राप्तीसोनारीको गाउँ सभा



कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाको छैठौ गाउँ सभा कोरोना भाइरसका विषयमा केन्द्रित भएको छ । गाउँपालिकाले तयार गरेका विभिन्न ३१ वटा कानुनका विषयमा छलफल गरी सभाले पारित गर्ने कार्यसुची रहेपनि विश्वलाई नै आतंकित पारेको कोरोना भाइरसको महामारी गाउँपालिका क्षेत्रभित्र उत्पन्न हुन नदिन विशेष सावधानी अपनाउने विषयमा सभा केन्द्रित भएको थियो ।

‘सभाबाट पारित गरिनुपर्ने कानुन र अन्य निर्णयलाई थाती राखेर बिहीबार बसेको सभामा विशेषगरी कोरोना भाइरसका बारेमा बढी छलफल केन्द्रित भयो,’ अध्यक्ष लाहुराम थारुले भने, ‘कोरोना भाइरस रोकथामका लागि सचेतना मुलक कार्यक्रम गर्ने, प्रचार–प्रसार गर्ने, मास्क खरिद गरी वितरण गर्ने र यसका लागि आवश्यक बजेटको ब्यवस्था मिलाउने विषयमै सभा केन्द्रित रह्यो ।’ सभा यही फागुन ११ गतेबाट सुरु भएको थियो ।

उक्त दिन सभा सुरु भएपनि फागुन २२ गते पुनः बस्ने गरी टुंगिएको थियो । छैठौ गाउँसभाबाट विभिन्न नियम, कानुन पारित गर्नुका साथै बजेट संशोधन, नामाकरण लगायत निर्णय गरिनेछ । बिहीबारको सभामा बोल्ने अधिकांस सदस्यले विश्वलाई नै आतंकित पारेको कोरोना भाइरसबाट राप्तीसोनारी क्षेत्रका आम नागरिकलाई जोगाउन सचेतना मुलक कार्यक्रमलाई ब्यापकता दिनुपर्नेमा जोड दिनु भएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

गाउँपालिकाले कोरोना भाइरसविरुद्ध सचेतना मुलक कार्यक्रम गर्न, प्रचार प्रचार गर्न तथा मास्क खरिदका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २३ गते शुक्रबार