दैलेख ।
आठबीस नगरपालिका, ४ राकम कर्णालीमा गत आर्थिक वर्षमा स्थापना भएको एक घरेलु उद्योग बन्द भएको छ । उद्योगमा रकम जुटाउन नसकेपछि पुराना कपडाबाट रुई निर्माण उद्योग बन्द भएको हो । उद्योगमा रकम नजुटेपछि सञ्चालकहरू खाडी मुलुक तथा भारततर्फ लागेका स्थानीयवासीले बताएका छन् । जिल्ला घरेलु उद्यमले यहाँका केही युवायुवतीलाई कपडा उद्योगसम्बन्धी तालिम दिएको थियो । तालिम लिएकाहरूलाई तालिम सकिएपश्चात रोजगारीका लागि उद्योग स्थापना गरिएको थियो ।
गाउँघरमा खेर गएका पुराना कपडालाई प्रयोगमा ल्याउने र नयाँ उद्यमी सिर्जना गर्ने उद्योगको उद्देश्य हो । उद्योगकर्मी गाउँगाउँमा गई कच्चा पदार्थ (पुराना कपडा) सङ्कलन गर्न हिच्किचाउने र त्यहाँबाट उत्पादन हुने रुई उत्पादन धेरै गर्न नसक्ने हुँदा रकम कम मात्रामा जुट्यो र विदेशतर्फ लागेका बताइएको छ ।
उद्योग स्थापना भएको करीब दुई महीनामै उनीहरूले उद्योगमा काम गर्न छाडिसकेका स्थानीयवासी गोकर्ण माझीले बताए । युवा विदेश लागेपछि उद्योगमा रहेका युवतीले समेत काम गर्न छाडेपछि लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको छ ।
वडाध्यक्ष रणबहादुर माझीका अनुसार पहिला उनीहरूकै रोहवरमा अनुदान थपियो, उनीहरूले काम गर्न छाडे, अहिले तालिमप्राप्त मान्छे गाउँमा पाउन मुस्किल भएको छ । ‘हामीले त्यो सम्बन्धीको तालिम प्राप्त मान्छेहरू खोजिरहेका छौं’, उनले भने ।
नगर प्रमुख खड्कराज उपाध्यायले ‘युवा रोजगार’का लागि ८० लाख बजेट छुट्याइएको बताए । त्यहाँबाट केही मात्रामा रकम छुट्याएर पुनः लगानी गरेर उद्योग सञ्चालन गर्ने उनको भनाइ छ । ५३ हजार ८२४ जनश्रमदान र पाँच लाख रूपैयाँ अनुदानमा उद्योग स्थापना गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्