अनोज थारु । बढैयाताल ।
बर्दियाको बढैयाताल गाउँपालिकामा जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुका लागि क्षमता विकास कार्यशाला सुरु भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई सम्बन्धि स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षासम्बद्ध पदाधिकारीहरुका लागि तीन दिने क्षमता विकास कार्यक्रम सुरु भएको हो । कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने बालबालिकाहरुको पठन पाठन गर्ने सिपमा बृद्धि गर्ने उद्देश्यले जनप्रतिनिधि र शिक्षकहरुलाई तालिम दिएको बताइएको छ ।
तीन दिने तालिममा बढैयाताल गाउँपालिकाका शिक्षा प्रमुख बिष्णु प्रसाद ढकाल, शिक्षा शाखाका कर्मचारी बिमला गुरुङ्ग र राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला प्रमुख मनोज अधिकारीले सहजिकरण गर्नेछन् । तालिमको पहिलो दिन राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको परिचय, उपलब्धि, कार्यक्रमको तयारी, निति तथा कार्यक्रमबारे जानकारी, नेपालको संवैधानिक नीतिगत व्यवस्था, विद्यालय क्षेत्र विकास कार्यक्रम, दिगो विकास लक्ष्य, स्थानीय पालिकाको शैक्षिक अवस्थाबारे जानकारी गराइएको शिक्षा प्रमुख ढकालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपाकुमारी गौतमले आधारभुत (१–३ ) तहका विद्यार्थीको पठन सिप क्षमता बृद्धि गर्न सकिने बताइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले गाउँपालिकाको शैक्षिक गुणस्तर उन्नयनको लागि छिट्टै नै शैक्षिक गुणस्तरको गुरु योजना बनाएर अगाडि बढ्ने बताए । तालिममा गाउँपालिकाका जनप्रतिनिधी, शिक्षा शाखाका कर्मचारी लगायतको सहभागिता रहेको छ ।









प्रतिक्रिया दिनुहोस्