रावन बिश्वकर्मा, बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिकामा तेस्रो नगर स्तरीय मेयर कप तथा १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । बाँसगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र जनप्रिय मावि दमौलीको सह–आयोजनामा सोमबारदेखि खेलकुद प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेका थिए । उनले विद्यालयलाई सिकाइ केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए । ‘जीवनमा आउने हरेक कठिनाई पार गर्न सक्ने ज्ञान र सीप विद्यालयबाट प्रदान गरिनु पर्छ’ उनले भने ‘अभिभावकहरुले सक्षम र असल नागरिक बनाउन आफ्ना सन्तान सुम्पिनु भएको छ ।’ मन्त्री बरालले शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको समेत जानकारी गराए ।
नगर प्रमुख सालिकराम अधिकारीले नगरपालिकाले शिक्षालाई मुख्य प्राथमिकताका अगाडि बढाएको बताए । उनले अनुसाशित समाजको आधार तयार गर्न र असल खेलाडीको विकास गर्न खेलकुद अनिवार्य भएको समेत दाबी गरे । प्रतियोगिताको उद्घाटनमा सामुदायिक तथा संस्थागत विद्यालयहरुले मार्च पास सहित मन्त्री बराललाई सलामी दिएका थिए । कार्यक्रममा सह–आयोजक विद्यालयको तर्फबाट विभिन्न साँस्कृतिक प्रस्तुतिसँगै योगा समेत प्रस्तुत गरिएको थियो । मेयर कप मुल आयोजक समितिका सदस्य सचिव शर्भिस शर्माले समग्र विद्यालयको अवस्थाका बारेमा जानकारी सहित सहभागीहरुलाई स्वागत गरेका थिए ।
सामाजिक विकास समिति बाँसगढीका संयोजक तथा मुल आयोजक समितिका संयोजक तुल प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद तुल्सा थापा, सविधान सभा सदस्य निर्मल प्रकाश सुवेदी, प्रदेश सांसद कविराम थारु, भुवनेश्वर चौधरी, जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारु लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, सरकारी तथा गैरसकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उल्लेख्य सभागिता रहेको थियो । बाँसगढी नगरमा रहेका सामुदायिक र संस्थागत मावि १८ आधारभुत विद्यालय ९ गरी २७ वटा विद्यालयहरुले विभिन्न खेलकुद विद्यामा भाग लिएको विद्यालयका सूचना अधिकारी बलराम भुजेलले बताए ।









प्रतिक्रिया दिनुहोस्