रावन बिश्वकर्मा, बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिका सञ्चालन हुने तेस्रो बाँसगढी मेयर कपको तयारी अन्तिम चरणमा पुगेको छ । आइतबारबाट जनप्रिय मावि दमौलीमा सञ्चालन हुने प्रतियोगिताको आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालबाट हुने निश्चित भएकोे मेयर कप मुल समारोह समितिका संयोजक तथा सामाजिक विकास समिति संयोजक तुल प्रसाद गौतमले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि झण्डै ९० प्रतिशत काम पुरा भइसकेको छ ।
तेस्रो संकरणको मेयर कप तथा १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनोट प्रतियोगिता सञ्चालनको लागि खेल मैदान निर्माण कार्य सँगै आवश्यक पत्राचारको काम पुरा भएको विद्यालयका सूचना अधिकारी बलराम भुजेलले बताए । ‘मेयर कपका लागि विभिन्न स्थानहरुमा गेट निर्माण गरिएको छ’ उनले भने, ‘ककौराको पिसियो चोकमा बालज्योति एकेडेमी ककौलाको प्रायोजनमा गेट निर्माण गरिएको छ ।’ यस्तै दमौलीमा प्याराडाइज एकेडमी दमौली र जनसेवी प्रावि दाङ्गपुर दमौलीले २ वटा गेट निर्माण गरेको छ । अन्य स्थानमा पनि गेट निर्माणको काम भइरहेको छ । प्रतियोगिता सञ्चालनका लागि खेलमैदान निर्माण, घेराबार, ट्याक निर्माण, भलिवल कोड, कबड्डी कोर्ड लगायत सबै तयारी पुरा भएको र स्टेज निर्माण कार्य भइरहेको उनले बताए ।
मेयर कप कै लागि मोतिपुर हुदै दमौली जाने सडकलाई चिटिक्क पारिएको छ । अन्य समयमा खाल्डा खुल्डीले सास्ती भोग्नु पर्ने सडक अहिले माटो पटानी गरी चिटिक्क पारिएको हो । त्यस्तै विद्यालय र दमौली गाउँका स्थानीयहरुको सक्रियातामा दमौली गाउँमा सरसफाई गरिएको छ । मेयर कप हुने विद्यालय सम्म आउन सहजताका लागि मोतिपुर, ककौरा, लक्ष्मणामा सिग्नल बोर्ड राखिएको छ । दमौली गाउँमा नै मेयर कप हुने भए पछि दमौली गाउँबासीहरु पनि उत्साहित भएको मेयर कप मुल समारोह समितिका सदस्य सचिव तथा विद्यालयका प्रधानाध्यापक शर्भिस शर्माले बताए । उनले दमौली गाउँबासी सँगै स्थानीय संघसंस्था, विद्यालयका शिक्षक कर्मचारी, विद्यार्थीहरु मेयर कप भव्य र सभ्य रुपमा सफल पार्न उत्साहका साथ लागेको बताए ।
सहभागी विद्यालय र विद्यार्थीको थप उत्साहका लागि नयाँ कोशिसका साथ मेयर कप सञ्चालन गर्ने विद्यालयले अभ्यास गरिरहेको उनले बताए । बाँसगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र जनप्रिय मावि दमौलीको सह आयोजना र आथित्यतामा फागुन ४ गते देखि ८ गते सम्म प्रतियोगिता सञ्चालन हुनेछ । बाँसगढी नगरपालिकामा रहेका सामुदायिक र संस्थागत मावि १८ वटा र आधारभुत ९ गरी २७ वटा विद्यालयहरु प्रतियोगितामा सहभागि हुने छन् । प्रतियोगितामा छात्र छात्रा भलिवल, कबड्डी, मार्सल आट र एथ्लेटिक्स बिधाका बिभिन्न खेलहरु हुने विद्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्