लागुऔषध बिरुद्धको विद्यालय केन्द्रीत अभियान



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका विभिन्न वडाहरुमा लागुऔषध बिरुद्ध विद्यालय केन्द्रीत सचेतनामूलक अभियान सञ्चालन गरिने भएको छ । समाज सेवा संस्था नेपालको आयोजनामा कोहलपुर नगरपालिकाका तीन वटा वडाका विभिन्न विद्यालय तथा टोल–टोलमा गएर अभियान सञ्चालन गरिने भएको हो । लागुऔषध न्युनिकरण गर्न कोहलपुर नगरपालिकाका वडा नं.७, १० र १४ मा गएर विद्यार्थी र अभिभावकहरुलाई अभिमुखीकरण तथा सडक नाटकका माध्यमबाट सचेतना प्रदान गरिने संस्थाका अध्यक्ष विनोद थापाले जानकारी दिए ।

तीन वटा वडाभित्र रहेका विभिन्न विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अभियान सञ्चालन गरिने उनले बताए । अभियान यही माघ २७ गतेदेखी कोहलपुर–७ लखनामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट शुरुवात गरिने अध्यक्ष थापाले जानकारी दिए । त्यहाँ रहेका विद्यार्थीहरुलाई लागुऔषध न्युनिकरण सम्बन्धी अभिमुखीकरण गरिने छ । यस्तै माघ २८ गते वडा नम्बर १४ मा रहेको श्री राम माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अभिमुखीकरण दिइने उनले बताए । यसपछि तीनै वडाहरुमा लागुऔषध क्षति न्युनिकरण सम्बन्धी युवाहरुसँग अभिमुखीकरण गरिने छ भने ती वडाहरुको अभियान पश्चात नगरपालिका भित्र रहेका सबै वडाहरुमा लागुऔषध दुव्र्यसन विरुद्ध युवा, लागुऔषध प्रयोगकर्ता, अभिभावक र सरोकारवालाहरुसँग अन्र्तक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

शुक्रबार आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै वडा नं.१४ का अध्यक्ष टेकचन हरिजनले लागुऔषध न्युनिकरणका लागि विद्यालयसँगै वडाका प्रत्येक टोल–टोल कार्यक्रम केन्द्रीत गर्नुपर्ने बताएका थिए । त्यसका साथै टोल–टोलमा समिति समेत गठन गर्नुपर्ने उनको धारणा थियो ।

यस्तै सामुदायिक प्रहरी सेवा केन्द कोहलपुरकी रुपा बुढामगरले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध न्युनिकरणका लागि विभिन्न संघ संस्थाहरुसँग हातेमालो गरेर अघि बढिरहेको भन्दै आगामी दिनहरुमा पनि सहकार्य गर्दै जाने बताइन् । वडा नं.१४ की वडा सदस्य रुक्मिना शर्माले विभिन्न टोलहरुमा सचेतनामूलक कार्यक्रमसँगै अभिमुखीकरण, सडक नाटक प्रदर्शन लगायतका कार्यक्रम गरेर अघि बढ्नुपर्ने बताएकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ २५ गते शनिबार