बर्दिया ।
बर्दिया बाँसगढी क्षेत्रका कृषकलाई अनुदानमा मकैको बिउ वितरण गर्न थालिएको छ । बसन्ते मकै खेतीका लागि कृषि विकास शाखा बाँसगढीले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाईब्रेड र उन्नत जातको मकैको बिउ वितरण गर्न थालेको हो । बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी र उपप्रमुख सुष्मा चौधरीद्धारा कृषकहरुलाई बिउ हस्तान्तरणसँगै सोमबारदेखी मकैको बिउ वितरण गर्न सुरु गरिएको छ । खाद्यान्न बाली मध्ये दोस्रो बालीको रुपमा रहेको मकै खेती तर्फ कृषकहरुलाई आकर्षित गर्न र बढी भन्दा बढी मकै उत्पादन गरी कृषकहरुको आर्थिक आयस्तर बृद्धि गराउन मकैको बिउ वितरण गरिएको कृषि विकास शाखा बाँसगढीले जनाएको छ । कृषि विकास शाखाका अनुसार पहिलो दिन ३४ जना कृषकलाई झण्डै ३ क्विन्टल बढी बिउ वितरण गरिएको थियो ।
बिउ वितरण कार्यक्रममा नगर प्रमुख अधिकारीले मकै खेतीलाई उत्पादनमुखी बनाउन कृषकहरुलाई अनुरोध गरे । उनले कृषकहरुलाई समुह सहकार्यका साथ आर्थिक उन्नती हुने गरी कृषि खेती प्रणालीमा जुट्न समेत आग्रह गरेका थिए । कृषि विकास शाखा बाँसगढीका प्रमुख लाल बहादुर खड्काले ८ क्विन्टल बढी मकैको बिउ कृषकहरुलाई वितरण गर्ने लक्ष्य राखिएको बताए । उनले बाँसगढी नगरपालिका अन्तर्गत पर्ने १ देखि ९ वडाका कृषकहरुको माग अनुसार ५० प्रतिशत अनुदानमा कञ्चन र राजकुमार जातको हाईब्रेड र अरुण जातको उन्नत जातको मकैको बिउ वितरण गरिने जानकारी दिए ।
उनले मकैको बिउ लिएका कृषकहरुलाई अनिवार्य रुपमा मकैको विमा गर्न समेत अनुरोध गरेका थिए । त्यस्तै कृषि विकास शाखा बाँसगढीका प्राविधिक सहायक विकास उपाध्यायले दमोर किसिमको माटोमा ७५ देखी २५ सेन्टिमिटरको फरकमा मकैको बिउ लगाउन कृषकहरुलाई अनुरोध गरे । उनले मकै खेती गर्दा माटोको उर्वरा, मल, किट्नासक औषधी, लगाउने तरिका र गोडमेलका बिषयमा समेत जानकारी गराएका थिए । मकै खेती गर्ने कृषकहरुले ५० प्रतिशत अनुदानमा कृषि विकास शाखा बाँसगढीको कार्यालयमा आएर मकैको बिउ लिन सक्ने कृषि प्राविधिक राजु चौधरीले बताए ।








प्रतिक्रिया दिनुहोस्