कोहलपुर ।
चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा बाँकेमा सवारी दुर्घटना तीन दर्जन मानिसहरुले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार यो अवधीमा सवारी दुर्घटनामा परेर ३६ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको साउनदेखि पौष मसान्तसम्म जिल्लाका विभिन्न स्थानहरुमा भएका सवारी दुर्घटनामा ३६ जनाले ज्यान गुमाएका हुन् । बाँकेका ट्राफिक प्रहरी निरीक्षक पविन्द्र बमले साउन महिनामा मात्रै ७ जनाको मृत्यु र १६ जना घाईते भएको जानकारी दिए । ट्राफिकका अनुसार भाद्र महिनामा ४ जनाको मृत्यु भएको भएको थियो भने १५ जना घाइते भएका थिए ।
यसैगरी असोजमा ५ जनाको मृत्यु २३ जना घाईते, कात्तिक महिनामा ६ जनाको मृत्यु २३ जना घाईते भएका छन् । मंसिरमा सबै भन्दा बढी ११ जनाको मृत्यु भएकोमा ४६ जना घाईते भएको ट्राफिक प्रहरी निरीक्षक बमले जानकारी दिए । पौष महिनामा सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु हुँदा ११ जना घाईते भएका थिए । पछिल्लो ६ महिनामा १ सय ५२ वटा सवारी साधान दुर्घटना भए ।
आर्थिक वर्ष २०७३/०७४ मा २६, २०७४÷०७५ मा ४७ र २०७५/०७६ मा ६६ जनाले सवारी दुर्घटनामा परी बाँकेमा अकालमा ज्यान गुमाउनु परेको थियो । विगत चार वर्षको तथ्यांकलाई हेर्दा सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या बढ्दो क्रममा रहेको बाँके ट्राफिकले जनाएको छ । तीव्र गतिका कारण सबै भन्दा दुर्घटना हुने ट्राफिक प्रहरी निरीक्षक बमले बताए । उनका अनुसार दुर्घटना न्युनिकरणको लागि बाँकेमा ट्राफिकले परिक्षण हर दिन कार्यक्रम नै सञ्चालन गरेको छ ।
हर दिन कार्यक्रम अन्तर्गत प्रत्येक दिन बालबालिकका, विद्यार्थी, साईकल यात्री देखी ठुला सवारी साधनका चालक तथा कर्मचारीहरुलाई सवारी दुर्घटनाका न्युनिकरणका लागि सचेतना फैलाउँने गरिएको छ । पछिल्लो ६ महिनामा मात्र ४ हजार बढीलाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण दिइएको बाँके ट्राफिक प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्