अनोज थारु । बढैयाताल ।
बर्दियाको बढैयाताल गाउँपालिकाले थारु समुदायमा रहेको ‘बरघर प्रथा’ लाई संरक्षण गर्ने घोषणा गरेको छ । दिगो विकासका लागि बरघरहरुको नितिगत नेतृत्व क्षमता विकास सम्बन्धि चार दिने तालिमको समापनमा बोल्दै बढैयाताल गाउँपालिका प्रमुख लाल बहादुर श्रेष्ठले बरघर भनेको समाजको सम्पत्ति भएको बताएका थिए ।
‘बरघर प्रथा र परम्परालाई जोगाएर अगाडी बढेमा समाजको विकास हुन्छ’ उनले भने, ‘थारु समुदायमा पुर्खौ देखि चल्दै आएको बरघर प्रथालाई निरन्तरता दिनको लागि प्रत्येक वडा–वडामा टोल विकास समिति बनाईने छ ।’ बरघरलाई नै अध्यक्ष राख्ने र गाउँपालिकाबाट टोल विकास समिति तथा बरघर समिति एउटै हुन भनि दुवैले पालना गर्ने कार्यबिधि बनाएर कानुनी रुपमा गाउँसभाबाट पास गरेर जिम्मा दिने अध्यक्ष श्रेष्ठले बताए ।
पुर्खौ देखि गाउँ सुधार, कुलापानी, समुदायमा भए गरेका सामान्य विवादको मेलमिलाप, सामाजिक काम, लगायत हरेक काममा बरघरहरु निस्वार्थ रुपमा काम गर्दै आएका छन् । बरघरहरुको कामले स्थानीय सरकारलाई धेरै सहयोग पुगेको कारण उहाँलाई फोन खर्च भनेर हिउँदे अधिवेशनपछि कार्यपालिकाबाट बजेट पास गरेर टेलिफोन सेवा वाफत प्रतिमहिना रु १ हजार दिने अध्यक्ष श्रेष्ठले दाबी गरे ।
कार्यक्रममा बोल्दै बढैयाताल वडा नं १ का अध्यक्ष शेर बहादुर थापा, २ नम्बरका वडाअध्यक्ष काजिमान सुनार, ४ नम्बरका वडाअध्यक्ष कर्णबहादुर थापा र ६ नम्बरका वडाअध्यक्ष रामहरष थारुले बरघरहरुको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । पुस २१ गते देखि सञ्चालन भएको ४ दिने तालिमको अन्तिम दिन अभियान कर्ता सुशिल चौधरी र अधिवक्ता संन्तकुमार ढरकत्वाले तालिमको सहजिकरण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्