सकियो बुटवल व्यापार मेला



बुटवल ।

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला सकिएको छ । १५ दिनसम्म सञ्चालन गरिएको मेलाको समापन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानीका परिसूचकहरु राम्रो देखिएपनि वातावरण बन्न नसकेको बताएका छन् । उनले मुलुकको अर्थतन्त्र सुधारकालागि नीजि क्षेत्रको मनोवल बढाएर लगानी आकर्षण गर्न सरकारलाई सुझाव दिए ।

मुलुकमा पर्यटन बिकासको राम्रो सम्भावना रहेकाले पर्यटकको बसाई लम्याउनु पर्ने, लुम्बिनी बिशेष प्याकेज बनाउनुपर्ने, मुलुकमा उद्योगधन्दा बिकासको लागि लगानी कर्तालाई जमिन उपलब्ध गराउनु पर्ने उनको भनाई थियो । त्यस्तै निकासी सम्भावना भएका उत्पादन बृद्धि गर्न र कृषि उद्यमशिलता बिकासका लागि कृषिमा आधुनिकिकरण तथा प्रविधीको प्रयोगमा जोड दिएका थिए ।

निकट भविश्यमा नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको पदभार ग्रहण गरेपछि मुलुकको अर्थतन्त्र सुधारका लागि नीजि क्षेत्रको भूमिकाका बारेमा जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुसंग सुझाव लिएर अगाडी बढ्ने पनि सोही अवसरमा उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बिभिन्न खाले बाधा व्यवधानका बीच पनि मेला सफल भएको जानकारी गराउँदै लक्ष्य परिपूति उन्मुख रहेको बताए । मेलाले सिंगो बुटवलको बजारलाई नै चलायमान बनाएको बताउँदै देवीनगरमा सञ्चालन गरिएको मेलाले यहाँको पहिचान स्थापित गर्न सफल भएको अध्यक्ष हमालको दाबि छ ।

समापन कार्यक्रममा बोल्दै ५ नं. प्रदेशका प्रदेश सभा सदस्य कृष्ण न्यौपाने, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले सबैको साथ र सहयोगका कारण मेला नयाँ स्थानमा सञ्चालन गरिए पनि सफल भएको बताउँदै यहाँको बिकासमा सबैको साथ र सहयोग आवश्यक रहेको औंल्याएका छन् ।

मेला समापनकै दिन अर्घाखाँची भूमिका स्थान खिल्जी रुपन्देही सम्पर्क समाजले अर्घाखाँची खिल्जीको सांस्कृतिक झाँकी सरायँ नाच प्रदर्शन गरेको थियो भने बिभिन्न कलाकारहरु प्रस्तुती गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २४ गते बिहीबार