26 May 2024  |   आइतवार, जेष्ठ १३, २०८१

खजुरामा दोस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताकोे तयारी पुरा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस २४, २०७६  

नेपालगञ्ज ।

बाँकेको खजुरा गाउँपालिकामा हुन गइरहेको दोस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । ‘शिक्षा, स्वास्थ्य र खेलकुद खजुराको सान, विविधतामा एकता हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ हुने गइरहेको प्रतियोगिता भोली शुक्रबारबाट सुरु हुनेछ । खजुरा गाउँपालिकाको आयोजना र अमर माबि गौतमवस्ती सि गाउँको व्यवस्थापनमा दोश्रो मेयर रनिङ सिल्ड प्रतियोगिता हुन गइरहेको हो ।

प्रतियोगिता अमर माबि गौतमवस्ती सि गाउँको खेल मैदान शुक्रबारदेखि आगामी २९ गतेसम्म सञ्चालन हुन गइरहेको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको थियो । ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगीताका लागी गाउँपालिकाले ५ लाख रुपैयाँ बिनियोजन गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक तथा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिएका थिए । प्रतियोगीतामा ६५ इभेन्ट समावेश गरिएको उनले बताए ।

१ हजार ४ सय ६ जना विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन् । गत बर्ष देखी सुरु मेयर कपको पहिलो संस्करण जनसेवा मावि पुरैनिमा सम्पन्न भएको थियो । दोस्रो संस्करण अमर माबि गौतमबस्तीमा आयोजना हुने भएकाले विद्यालयले नयाँ भौतिक संरचना समेत पाएको अध्यक्ष कक्षपतिले दाबी गरे । स्कुल ब्यवस्थापन समितीका अध्यक्ष डम्बर बिक तुफानले गत बर्षको प्रतियोगीताको प्रभावका कारण नै दोस्रो संस्करण गर्न आफुहरुको उत्साह बढेको बताए ।

उनले प्रतियोगीताकै लागि भनेर ११ वटा गेट निर्माण भइरहेको जानकारी दिए । ‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको छ’ अध्यक्ष विकले भने, ‘शुक्रबार बिहानसम्म सबै तयारीहरु पुरा गर्नेगरी काम जारी राखेका छौं ।’ प्रतियोगिताको उद्घाटन प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्ने उनले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, पुस २४, २०७६     7:49:15 AM  |