कोहलपुर उद्योग वाणिज्य संघले भन्यो, ‘कोहलपुर महोत्सवमा हाम्रो संलग्नता छैन’



कोहलपुर ।

बाँकेको कोहलपुरमा आजबाट सुरु हुने तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सव २०७६ मा आफ्नो संलग्नता नरहेको कोहलपुुर उद्योग वाणिज्य संघले स्पष्ट पारेको छ । बुधबार संघले पत्रकार सम्मेलन गरेर महोत्सवमा आफ्नो कुनै संलग्नता, सहभागिता र सहकार्य नरहेको स्पष्ट पारेको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष चक्र बहादुर अधिकारीले घरेलु महासंघ कोहलपुर नगरसमितिले महासंघको नियम विपरीत महोत्सव सञ्चालन गर्न लागेको भन्दै आपत्ती जनाएका थिए ।

कोहलपुर नगरपालिकाले पनि यस क्षेत्रका व्यवसायीहरुलार्ई मर्का पर्ने गरी आफूखुसी विभिन्न संस्थालाई महोत्सव सञ्चालनका लागि अनुमति दिएको आरोप उनले लगाए । महिनै पिच्छे महोत्सव सञ्चालन गर्दा कोहलपुर क्षेत्रको शान्ति, सुरक्षा अमनचयन खलल पु¥याई आर्थिक अवस्था खस्किने अध्यक्ष अधिकारीले दाबी गरे ।

वस्तुगत संघसंस्थाले पनि महोत्सवमा सहभागी नहँुन ऐक्यवद्धता जनाएको संघका महासचिव तेजप्रसाद अधिकारी बताउँछन् । महासचिव अधिकारीले सिमित व्यक्तिको फाईदाका लागी लगाइएका महोत्सवले कोहलपुर क्षेत्रको व्यापार ब्यवसाय धरासायी हुदै गएको जिकिर गरेका छन् । घरेलुको महोत्सव लगाउँने पद्धती ठिक नभएको उनले बताए ।

महोत्सव ठेक्का प्रक्रियाबाट सञ्चालन भइरहेको आरोप लगाउँदै उनले संघमा दर्ता भएका वस्तुगत संघ, उद्योगी, व्यापारीहरुलाई उक्त महोत्सवमा सहभागी नहुन आग्रह गरिएको जानकारी दिए । यस क्षेत्रका उद्योगी व्यवसायीहरुको साझा संस्था कोहलपुर उद्योग बाणिज्य संघ रहेको भन्दै अध्यक्ष अधिकारीले व्यवसायीहरुलाई घाटा हुने गरी गर्न लागिएको महोत्सवलाई समर्थन गर्न नसकिने स्पष्ट पारे ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २४ गते बिहीबार