हिमपातले कतै खुशी कतै सकस



रुकुमपूर्व ।
मङ्सिरको अन्तिम र पुसको तेस्रो सातापछि मंगलबार परेको हिउँले रुकुम (पूर्व) मा कतै खुशियाली छाएको छ भने कतै जनजीवन कष्टकर बनेको छ । मङ्सिरको अन्तिममा परेको हिउँ बिलाउन नपाउँदै पुसको तेस्रो साता फेरि प¥यो । दुई दिन खुलेको आकाश र लागेको घामले मानिसहरूले न्यानो अनुभूति गर्न नपाउँदै पुनः तेस्रोपटक मङ्गलबार बिहान जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा भएको छ । हिमपात र वर्षाले अत्यधिक चिसो बढेको र जमेको हिउँका कारण मानिसलाई दैनिक कामकाज गर्न मुस्किल परेको छ ।

गत बुधबार, बिहीबार र शुक्रबार लगातार हिमपात भयो । हिमपातपछि माथिल्ला बस्तीमा मानिसले कतै हिउँ पन्छाउँदै काम गरिरहेका छन् त कतै सडक अवरुद्ध बनेका छन् । हिमपातले पुथाउत्तरगङ्गा गाउँपालिका र सिस्ने गाउँपालिका–१ वडा बढी प्रभावित भएका छन् । पुथाउत्तरगङ्गाको हुकाम, मैकोट लगायतका क्षेत्रमा बाक्लो हिउँ जमेपछि मानिसलगायत पशुचौपायलाई समस्या भएको छ । चरन क्षेत्रमा जमेको हिउँ दुई–तीन महिनासम्म नपग्लिने हँुदा चरनको समस्या हुने भएको छ । सडकमा हिउँ जमेकाले मङ्सिर अन्तिम सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन भएको छैन । पटकपटक परेपछि सडकमा बाक्लो हिउँ जमेको प्रजिअ मोहनप्रसाद अर्यालले बताए । मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि रुकुम (पूर्व) बाट बागलुङ, पोखरा हँुदै काठमाडाँै जानेहरू समस्यामा परेका छन् । दाङ, सल्यान, बुटवल हुँदै काठमाडौँ जाँदा धेरै समय लाग्छ ।

यात्रुले छोटो बाटोका रूपमा प्रयोग गर्दै आएको मध्यपहाडी लोकमार्गअन्तर्गतको रुकुम (पूर्व) र बागलुङको सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा हिउँ जमेकोले बाटो अवरुद्ध बनेको हो । डोजरले हिउँ पन्छाए पनि बाटो खुलाउन सम्भव नभएकाले अब हिउँ पग्लिएपछि मात्रै सडक सञ्चालन गर्न सकिने प्रजिअ अर्यालले बताए । चिसोले कसैलाई हानी नहोस् भनेर विपन्नलाई न्यानो कपडा वितरण गर्न स्थानीय तहलाई आग्रह गरिएकोले न्यानो कपडा वितरण गरिहरहेको उनले दाबी गरे । पुथाउत्तरगङ्गा गाउँपालिका–१ का बासिन्दाले हिउँ पन्छाउँदै मैकोटमा निर्माण हुन लागेको ढोरपाटन सिकार आरक्षको चारकोठे भवन बनाउने काम गरिरहेका छन् । कूल ५२ लाख बजेटमा रोयल पुथा निर्माण सेवा प्रालिले भवन बनाउन लागेको हो ।

हिउँ पग्लन धेरै समय लाग्ने भएकाले छिटो काम सक्न मैकोटवासी हिउँ पन्छाएर सो भवन बनाउन जुटेको स्थानीय धनबहादुर कामीले
बताए । आरक्षको कूल भूभागको ६० प्रतिशतभन्दा भूभाग र सिकार खेल्ने सातमध्ये चार ब्लक रुकुम (पूर्व) मा पर्छ । यति हुँदाहँुदै पनि आरक्षबाट कुनै फाइदा लिन नसकेका त्यस क्षेत्रका बासिन्दा आरक्षको कार्यालय भव बन्न थालेपछि खुशी भएका छन् । कर्मचारी आरक्षमा बसेपछि स्थानीयवासीलाई फाइदा हुनाका साथै वनजङ्गल र वन्यजन्तुको संरक्षण हुने स्थानीयवासी वीरेन्द्र बुढामगरले बताए । उत्पादनमा वृद्धि हुने भन्दै कृषकहरू खुशी छन् भने हिउँमा रमाउँदै फोटो खिच्ने, रमाउने काममा युवाहरू मस्त छन् ।

वर्षामात्र भएको क्षेत्रका मानिसहरू हिउँ खेल्न हूलै बाधेर माथिल्लो क्षेत्रमा पुगेका छन् । विभिन्न कार्यालयका कर्मचारी लगायतको टोली पनि हिउँ खेल्न पुथाउत्तरगङ्गा र बागलुङको सिमाना पातिहाल्ने पुगेका छन् । सिँचाइ अभावका कारण ओइलाउन थालेको खेती वर्षा र हिमपातपछि राम्रो हुने सिस्ने गाउँपालिका–५ का कृषक वसन्त बस्नेतले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २३ गते बुधबार