कोहलपुर । कोहलपुर महोत्सव भित्र रहने थारु गाउँ मुख्य आकर्षणको केन्द्र हुनेछ । महोत्सव स्थलभित्र थारु समुदायको भेषभुषा र संस्कृति झकिल्नेगरी थारु गाउँ बनाइएको छ । थारु संग्रालयसहितको थारु गाउँको झल्को दिनेगरी संरचना निर्माण गरिएको थारु गाउँ प्रदर्शनी संयोजक हेमन्त चौधरीले बताए । महोत्सवमा थारु संस्कृति, भेषभूषाको पहिचान चिनाउने उद्देश्यले थारु गाउँको निर्माण गरिएको उनले जानकारी दिए ।
‘थारु समुदायको इतिहास, कला–संस्कृति र पहिचान झल्कने पूरातात्विक वस्तुहरु प्रदर्शनीमा राखिनेछ’ उनले भने, ‘पछिल्लो समयमा थारुहरुको कला संस्कृति, पहिचान, इतिहास बचाउनका लागि महोत्सवमा प्रदर्शनी राख्न लागेका हौं ।’ लोप हुँदै गएको थारु जातीको पूरातात्विक पहिचान बोकेको लडिया, कोल, चकिया, ढेकी, ढकिया, देलवा, हेल्का, टापी, देलिया, धरिया, हर, जुवा, गैजा, छिट्वा, छिट्नी, अटुवा, डोली, चन्दोल, मन्दरा, कस्तारा, मजिरा, पौवा, भौका, थारु गर–गहनाहरु थारु गाउँभित्र प्रदर्शनीमा राखिनेछन् ।
संयोजक चौधरीका अनुसार प्रदर्शनीमा थारु परिकार घोगंघी, सिन्की, ढिकरी, गंगटा, मुसाको चटनी, लोकल भाले लगायतका स्थानीय परिकारहरु समेत हुनेछ । ‘थारु गाउँ अवलोकनको लागि केही शुल्क लाग्नेछ’ उनले भने, ‘भित्र प्रवेश गरिसकेपछि थारु समुदायको कला संस्कृतीको बारेमा जानकारी लिन सकिन्छ ।’ उक्त गाउँ भित्र थारु सम्बन्धी मात्र स्टलहरु रहनेछन् ।
त्यहाँ चर्चित थारु कलाकारहरुको प्रस्तुती समेत रहने बताइएको छ । ‘महोत्सवमा थारु गाउँ आकर्षणको केन्द्र बन्नेछ भन्ने हामीलाई लागिरहेको छ’ संयोजक चौधरीले भने, ‘त्यस अनुसार नै हामीले सजिसजावट गरिसकेका छौं ।’
प्रतिक्रिया दिनुहोस्