बुटवल । बुटवलको दिगो बिकासका लागि बजारलाई व्यवस्थित गर्न र ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने सरोकारवालाले जोड दिएका छन् । सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बुटवललाई व्यवस्थित रुपमा अगाडी बढाउन र दिगो रुपमा बुटवलको पहिचान कायम राखिरहनका लागि ट्राफिक व्यबस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा देवीनगरमा सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको सन्दर्भ पारेर सोमबार बुटवल उद्योग बाणिज्य संघको सचिवालय बालमन्दिरमा आयोजना गरिएको ‘नयाँ बुटवलको आधारः सुन्दर र व्यबस्थित बजार’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बुटवललाई व्यवस्थित रुपमा अगाडी नबढाउने र ट्राफिक व्यवस्थापन पनि नगर्ने हो भने बुटवलको बजार बिस्थापित हुने चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सोधकर्ता सुत्र शोलुसन्सका प्रबन्ध निर्देशक राजु शर्माले बुटवलको बजार जोगाई राख्नका लागि अरु नगरपालिका भन्दा प्रतिस्पर्धी क्षमता बढी हुनुपर्ने बताए । बुटवल पुरानो शहर, ऐतिहासिक महत्व बोकेका, व्यवसायिक तथा प्रशासनिक केन्द्र, आम्दानी योगदान,जीवनयापनको गुणस्तर लगायतका कारण आफैमा महत्वपूर्ण रहेको रहेको उनले बताए । बुटवलको ट्रेडलाई बचाई राख्न नसक्ने हो भने शहरीकरण हुँदै गरेका छिमेकका नगरपालिकामा यहाँको बजार विस्थापित हुने उनले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरिएको छ । त्यसका लागि यहाँको बजार र ट्राफिक व्यबस्थापन अपरिहार्य रहेको शर्माले औंल्याए । सुत्र शोलुसन्सले गरेको सोध अनुसार बुटवलमा सवारीको चाप भन्दा पनि व्यवस्थापनको समस्या हो ।
‘बुटवल उपमहानगरपालिका भित्र करिब ३ हजार साना ठूला गाडी छन्, ट्राफिक जाम हुने अध्यधिक सवारीका कारण हुने गरेको छ । प्रबन्ध निर्देशक शर्माले भने, ट्राफिक व्यबस्थापनमा समस्या छ । ट्राफिक व्यवस्थापनमा रिक्सा समस्याको रुपमा खडा भएको छ । त्यसको व्यवस्थापनका लागि नगरपालिकाले आवश्यकता पहिचान गरेर नगरपालिका भित्र १ हजार १८ वटा रिक्सा सञ्चालन गर्ने गरी सूचना प्रकाशित गरेको छ । कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अर्जुनमान सैंजुले व्यवस्थापनको नाममा सुविधालाई अवरोध हुनेगरी योजना बनाउन सान्दर्भिक नहुनेमा जोड दिए उनले नगरपालिकाले पनि व्यवस्थापनलाई प्राथमिकतामा राखेर नीति नियम बनाउनु पर्ने भन्दै सुविधा नै लिन नपाउने गरी बाध्यकारी नियम बनाउन नहुने सुझाव समेत दिए ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यले बुटवल बजार व्यवस्थापन र ट्राफिक समस्या समाधानमा धेरै समस्या नरहेको बताउँदै आत्ति हाल्नुपर्ने अवस्था नरहेको बताए । बुटवल बजारको सुधार आवश्यक रहेको बताउँदै सुधारका लागि नगरपालिकाले एक दुई स्थानमा निःशुल्क र बाँकी स्थानमा स शुल्क पार्किङ्का लागि सोँच बताएको उल्लेख गरे । त्यस्तैगरी बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनालले बुटवलको बजार सुधार गर्न नसके वडा नं. ४, ५ र ६ को ट्रेड बचाउन नसकिने
बताए ।
उनले भने, ‘जमिन तन्काएर तन्किदैंन, जे छ त्यसैमा व्यबस्थापन गर्ने हो । निश्चित बजार क्षेत्रमा निश्चित समय सवारी साधन निषेध गरेर हुन्छ कि के गरेर हुन्छ ? सुधार गर्नुपर्छ ।’ रिक्साले ट्राफिक व्यवस्थापनमा समस्या भएको कारण आवश्यकता अनुसार रिक्सा सञ्चालनका लागि नगरपालिकाले सूचना सार्वजनिक गरेको समेत उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्