कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकामा माघीको अवसरमा माघी मिलन कार्यक्रम गरिने भएको छ । आदीवासी जनजाती महासंघ नेपाल बाँकेको आयोजना आगामी शनिबार माघी मिलन कार्यक्रम हुने भएको हो । उक्त कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय नेताहरुको समेत सहभागिता रहने बताइएको छ ।
कार्यक्रम बैजनाथ गाउँपालिका ५ मा रहेको न्युसिटी, वनकटुवामा हुनेछ । आदीवासी थारु समुदायहरुले नयाँ वर्षको रुपमा समेत रहेको माघी पर्वको अवसरमा हुने कार्यक्रममा नेकपाका आधा दर्जन केन्द्रिय नेताहरु आउन लागेका हुन् । माघी मिलन कार्यक्रममा नेकपाका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाउने निर्णय भएको आयोजकले जनाएको छ । ‘अध्यक्ष प्रचण्डलाई मुख्य अतिथिको रुपमा औपचारिक निमन्त्रणा गर्ने निर्णय भएको छ’ संयोजक चन्द्र बहादुर चौधरीले भने, ‘केही दिनमा नै यसको टुंगो लाग्नेछ ।’
त्यसैगरी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी, थारुका आयोगका अध्यक्ष विष्णु चौधरी, पुर्व सभामुख तथा प्रदेश नम्बर ५ की अध्यक्ष ओनसरी घर्ती तथा बाँकेबाट प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने सांसदहरुको उपस्थिती रहने पक्का भएको छ । ‘बाँके जिल्ला भुवर भवानी जस्तो मुर्त साँस्कृतिक सम्पदा भएको जिल्ला हो’ संयोजक चौधरीले भने, ‘यहाँको जातीय, भाषिक र साँस्कृतिक विविधताको पहिचान झल्काउन आवश्यक छ ।’
आदीवासी जनजाती समुदायको साँस्कृतिक प्रवद्र्धन तथा विकासका लागि विषेश कार्यक्रमको आयोजना गरिएको उनले दाबी गरे । कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि जिल्लामा रहेका आदीवासी, जनजाती समुदायहरुलाई अपिल गरिएको छ । माघी पर्व थारु, मगर लगायतका समुदायहरुले भव्यताका साथ मनाउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्