कोहलपुर ।
आगामी पुस २४ गते बाट कोहलपुरमा हुन गइरहेको तेस्रो प्रादेशिक महोत्सवको उद्घाटन संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले गर्ने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर समितिद्धारा आयोजना गरिने महोत्सवको मन्त्री भट्टले उद्घाटन गर्ने पक्का भएको हो । ‘तेस्रो प्रादेशिक औधोगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव २०७६’को उद्घाटनको लागि मन्त्री भट्ट कोहलपुर आउदैछन् । महोत्सव मुल आयोजक समितीका संयोजक हेमविक्रम जिसीले मन्त्रीले आधारिक रुपमै आउने प्रतिबद्धता जनाइसकेको बताए ।
कोहलपुर महोत्सवको उद्घाटन समारोहमा बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय, प्रदेशका मन्त्री र सांसदहरुको सहभागिता समेत रहनेछ । उद्घाटन कार्यक्रम भव्य बनाउने उद्देश्यले यहाँको संस्कृति, परम्परा झल्किने झाँकी समेत प्रदर्शन गरिने तयारी थालिएको छ । अहिले महोत्सवको तयारी तीव्र रुपमा भईरहेको उनले जानकारी दिए । महोत्सव स्थलमा आवश्यक पर्ने पुर्वाधारको काम ९० प्रतिशत भन्दा माथि भईसकेको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय तथा घरेलु उत्पादन झल्किने ३ सय बढी स्टल रहनेछन् ।
महोत्सवमा स्टल तथा सहभागिताका लागि प्रदेश नम्बर पाँच र कर्णाली प्रदेशका सबै स्थानीय तह तथा महासंघहरुसँग पहल भईरहेको महोत्सव संयोजक जिसीले बताए । महोत्सवको १ लाख ५० हजार बढीले अवलोकन गर्ने लक्ष्य राखिएको छ । स्थानीय तह, राजनितिक दल, शिक्षक तथा विद्यार्थी संगठनहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । अहिले प्रचार प्रसारलाई समेत तिव्रता दिईएको छ ।
प्रतिक्रिया दिनुहोस्