27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

सम्पादकीय : पशुचौपाया बचाउन ध्यान पु¥याउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस २१, २०७६  

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको कान्जी हाउसमा केही दिनयता पशुचौपायाहरु धमाधम मरिरहेका छन् । पशुचौपायालाई सुरक्षित गर्ने भनेर सञ्चालन गरिएको कान्जी हाउस अहिले पशुचौपायाको लागि असुरक्षित स्थल बनिरहेको छ । पशुचौपायालाई उचित खानपिनको अभाव हुदा भोकभोकै मर्न बाध्य छन् । कान्जी हाउसमा उचित खाना र बस्ने व्यवस्था नहुँदा पछिल्लो केही दिनयता पशुचौपायाहरु मर्न थालेका हुन् । अझ दुख लागेर भन्नुपर्छ कान्जी हाउसमा रहेका पशुचौपायाहरुले पोषकतत्व भएका दानापानी खान समेत पाउँदैनन् । पोषकतत्व नपुगेपछि त्यहाँका अधिकांश पशुचौपायाहरु दुब्लाएका देख्न सकिन्छ ।

एक साता यता मात्र त्यहाँका १५ बढी पशुचौपायाहरु मरिसकेका छन् । त्यती नै संख्यामा पशुचौपाया बिरामी छन् । कान्जी हाउस सञ्चालन गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाले भने पशुचौपायाहरुको ज्यान बचाउन तर्फ भने खासै ध्यान दिएको पाइदैन । पशुचौपायाहरु दैनिक जसो मर्न थालेपछि शुक्रबार भेटेरिनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र, बाँके र नेपालगञ्ज उपमहानगरपालिका चिकित्सकहरु पुगेर उपचार गरेका थिए । तर त्यो समेत त्यती प्रभावकारी हुन सकेन । कान्जी हाउसमा रहेका पशुचौपायाहरुले पोषकतत्व भएका खानेकुरा नपाउँदा सामान्य रोगले समेत आक्रमण गर्ने गरेको छ । अहिले झन् अत्यधिक चिसोको मारमा खुल्ला चौरमा राखिएका पशुचौपायाहरु परेका छन् । पशुचौपायालाई आवश्यक पोषकतत्व नभएको घाँस र दानापानी खुवाएका कारण पशुचौपाया विरामी पर्ने गरेको उपचारमा संग्लन चिकित्सकहरु बताउँछन् ।

खान नपाएर कमजोर भएका पशुचौपायाले चिसोसँग जुध्न नसकेपछि निमोनिया हुने गरेको छ । अहिले निमोनियाकै कारण मरिरहेका छन् । अधिकांश पशुचौपायाहरु राम्रोसँग खाना नपाएर कमजोर भएका कारण हिड्डुल गर्न समेत राम्रोसँग सक्दैनन् । कान्जी हाउसमा भएका मध्ये ५८ वटा गाइगोरु लालन पालनका लागि सर्वसाधारणले लगेका छन् । कान्जी हाउसमा अव ३८ वटा गाइगोरु र एक वटा खच्चड रहेका छन् । उपमहानगरपालिकाले वडा नम्बर २१ मा नगरका छाडा पशुचौपायाहरु व्यवस्थापन गर्नको लागि कान्जी हाउस सञ्चालनमा ल्याएको थियो । तर कान्जी हाउसको उचित व्यवस्थापन भने नसक्दा पशुचौपायाहरु धमाधम मर्न थालेका हुन् । बेला बेला आफुलाई अधिकारबादी ठान्नेहरुले दानापानीको व्यवस्था गरिदिएपनी त्यो प¥र्यात हुन सकेको छैन । ठुला होटलमा पशु अधिकारका ठुला भाषणा गर्नेहरु दैनिक जसो पशुचौपायाहरु खोरमा मरिरहदा आवाज उठाएको पाइदैन । कान्जी हाउसमा नै पशुचौपाया मर्ने क्रम रोक्नको लागि उपमहानगरपालिकाले छिटो भन्दा छिटो कदम चाल्नुपर्ने देखिन्छ ।

प्रकाशित मितिः सोमवार, पुस २१, २०७६     7:16:35 AM  |