27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

लखनामा बन्यो अटो पार्किङ्ग स्थल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस १९, २०७६  

रावन बिश्वकर्मा, बाँसगढी ।

अटो रिक्सा व्यवस्थापनका लागि बर्दियाको लखनामा पार्किङ्ग स्थल निर्माण गरिएको छ । पुर्वपश्चिम राजमार्ग सँगै जोडिएको बाँसगढी नगरपालिका अन्र्तगत पर्ने लखना बजारमा बागेश्वरी यातायात समितिका कर्मचारी शंकर पुनमगरको पहलमा मध्यपश्चिम अटो रिक्सा समितिले पार्किङ्ग स्थल निर्माण गरेको हो ।

अटो रिक्सा समितिको आर्थिक सहयोग र अटो रिक्सा चालकको सक्रियतामा माटो पटान गरी पार्किङ्ग स्थल निर्माण गरिएको पुन मगरले बताए ।

अटो रिक्साहरु अव्यवस्थित रुपमा पार्किङ्ग गर्नाले बजार पनि अस्तव्यस्त देखिने र दुर्घटनाको पनि उत्तिकै जोखिम देखिएकाले व्यवस्थापनको लागि पार्किङ्ग स्थल निर्माण गरिएको बताइन्छ ।

बजार क्षेत्रमा पार्किङ्ग स्थल निर्माण गरिएपछि अटो पार्किङ्ग गर्न थप सहज भएको अटो चालक गोपाल थारुले बताए । बजार क्षेत्रमा अटो रोक्नको लागि समेत ठाउँ नभएको बेला समितिकै पहलमा पार्किङ्ग स्थल निर्माण गरिदा अटो चालक, सडकमा गुड्ने यातायात, साईकल र पैदल यात्रीलाई समेत थप सहज भएको छ ।

राजमार्ग मै जोडिएको लखना चोक देखि राँझा बेतहनी सम्म चल्ने लखना बजारमा अटो मात्रै २२ वटा रहेका छन् । लखना चोकबाट दैनिक राँझा बेतहनी सम्म २ वटा यात्रुबाहक बस समेत सञ्चालनमा हुने गर्छन् । बाँसगढी बजार क्षेत्रमा दिनहु अटो रिक्साहरु थपिदै गएपछि जथाभावी पार्किङ्ग गरिने समस्या रहेको थियो ।

अटो रिक्साहरु जथाभावी पार्किङ्ग गरिदा दुर्घटनाको जोखिम सँगै बजार क्षेत्र नै अस्तव्यस्त देखिने गरेको स्थानीय रामचन्द्र खत्रीले बताए । अटो रिक्सा पार्किङ्गका लागि भए पनि बजारमा सबै क्षेत्रमा पार्किङ्ग स्थल निर्माण गर्नुपर्ने अति आवश्यक देखिएको उनले दाबी गरे ।

बाँसगढी बजार क्षेत्रबाट ग्रामिण क्षेत्रका लागि दैनिक सयौं अटो रिक्साहरु सञ्चालन हुने गरेका छन् ।

प्रकाशित मितिः शनिबार, पुस १९, २०७६     8:11:17 AM  |