22 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

नेपालगञ्ज ग्यालेरीको आर्थिक सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस १८, २०७६  

नेपालगञ्ज ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय एक समूहले क्याम्पेन (अभियान) सञ्चालन गरी महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । फेसबुक गु्ररुप नेपालगञ्ज ग्यालेरीले केन्द्रलाई सहयोग गर्न फेसबुकमा सञ्चालन गरेको अभियानबाट संकलित एक लाख २८ हजार ७५१ रूपैयाँ केन्द्रका प्रमुख समेत रहेका पुनलाई
हस्तान्तरण गरेको हो ।

नेपालगञ्ज ग्यालेरीका सदस्य एवम् अभियन्ता विवेक श्रेष्ठले विभिन्न व्यक्तिबाट स्वस्फूर्त रूपमा प्राप्त सहयोग रकम कीर्तिपुरस्थित आविष्कार केन्द्रमै पुगेर पुनलाई हस्तान्तरण गरिएको जानकारी दिए । सहयोग रकम बुझ्दै पुनले आविष्कार केन्द्रलाई यतिबेला अल्पकालीन नभई दीर्घकालीन सहयोगको आवश्यकता परेको र सवैको साथ पाए केन्द्र चाँडै आफै सक्षम हुने पनि विश्वास व्यक्त गरेका थिए । पुनले नेपालगञ्ज ग्यालेरीमार्फत् सहयोग गर्ने दाताहरूलाई धन्यवाद पनि दिएका थिए ।

प्रविधिका क्षेत्रमा सृजनात्मक सोच भएका युवाहरूलाई नेपालमै उत्पादन क्षेत्रमा लगाउने र विदेशमा रहेका नेपाली प्राविधिक जनशक्तिलाई स्वदेशमै कामको अवसर दिने भनेर पुनको पहलमा केन्द्रको स्थापना भएको हो । तर, केन्द्र सञ्चालनका लागि आर्थिक अभाव हुँदा समस्या भइरहेको भन्दै पुनले सबैसँग सहयोगको अपिल गर्दै आएका छन् ।

प्रकाशित मितिः शुक्रबार, पुस १८, २०७६     10:29:29 AM  |