27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

‘गरिबी निवारण प्राथमिकता’ मुख्यमन्त्री पोख्रेल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस १८, २०७६  

बाँसगढी ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गरिबी निवारण नै प्रदेश सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् । बर्दिया बाँसगढीको रेउखोलामा निर्माण गरिएको झोलुंङ्गे पुलको बिहीबार उद्घाटन गर्दै उनले गरिबी निवारण गरी समृद्ध प्रदेश प्रमुख प्राथमिकता भएको बताएका हुन् । ठूला पुर्वाधार विकासमा मात्रै नभएर जनताको जीवनस्तर परिवर्तन गर्नको लागि प्रदेश सरकार सक्रिय रुपमा लागेको उनले दाबी गरे ।

‘ग्रामिण क्षेत्रका गरिब समुदायलाई लक्षित गरी मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अगाडी बढाएका छौँ’ मुख्यमन्त्री पोख्रेलले भने, ‘दुर्गम ठाउँका जनताको जीवनस्तर उकास्नको लागि गरिबी निवारणलाई ध्यान दिईएको छ ।’ उनले प्रदेश ५ सरकारले यस वर्ष २ वटा महत्वकांक्षी कार्यक्रमहरु घोषणा गरेको जानकारी दिए । प्रदेश ५ का भौतिक पुर्वाधार मन्त्री बैजनाथ थारुले बर्दियामा विकास भएन, बर्दियालाई प्रदेश सरकारले हेरेन भन्ने मौका प्रदेश सरकारले अब नदिने दाबी गरे । बर्दिया जिल्ला सुदुरपश्चिम प्रदेशको प्रवेशद्धारको रुपमा रहेकाले बर्दियालाई बिशेष ध्यान दिएर पुर्वाधार विकासमा बजेट छुट्याएको उनले बताए ।

‘बर्दिया जिल्लामा ठूला पुर्वाधार विकासका लागि बढी भन्दा बढी डिपिआर तयार पारिएको छ’ उनले भने, ‘बर्दियाली जनतालाई आयआर्जन सँग जोड्ने गरी योजनाका साथ पुर्वाधारलाई जोड्न खोजिरहेको छ ।’ बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले बाँसगढीको विकास निर्माणको अवस्था र पर्यटन विकासको सम्भावनाका बारेमा मुख्यमन्त्री र भौतिक पुर्वाधार मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

पुल निर्माणले बाँसगढी २ र ४ नम्बर वडाका ४ सय ७० घरधुरीका २ हजार ४ सय ४० जनसंख्या लाभान्वित भएको बाँसगढी नगरपालिका उपप्रमुख सुष्मा चौधरीले बताईन् । बाँसगढी नगरपालिकाको २ र ४ नम्बर वडालाई जोड्ने रेउखोला झोलुंङ्गे पुल ८१ लाख ३४ हजार ३ सय ७० रुपैयाँ लागतमा निर्माण भएको बाँसगढी नगरपालिकाका ईन्जिनियर बलराम पौडेलले जानकारी दिए ।

उनका अनुसार १५ मिटर लामो पुल निर्माणका लागि समुदायको लागत १ लाख ६५ हजार ६ सय ९१ रुपैयाँ, नगरपालिकाको तर्फबाट ४ लाख ९७ हजार रहेको थियो । यस्तै पुल महाशाखाको स्वाप अन्र्तगत सामग्री खरिदमा ७ लाख ५९ हजार, संघीय सरकार स्वाप अन्र्तगत ६७ लाख १२ हजार लागतमा पुल निर्माण गरिएको उनले जानकारी दिए ।
तत्कालिन जिल्ला विकास समिति बर्दियाबाट २०७५ जेठ ६ गते सम्झौता गरिएको पुलको उपभोक्ता समिति मार्फत २०७६ असार १२ गते बाँसगढी नगरपालिकाको तर्फबाट सम्पन्न भएको हो ।

प्रकाशित मितिः शुक्रबार, पुस १८, २०७६     10:26:06 AM  |