कोहलपुर ।
वित्तीय संस्थाबाट लिइएको कर्जालाई सहि क्षेत्रमा सदुपयोग गर्नुपर्ने एक कार्यक्रममा बोल्ने सरोकारवालाहरुले बताएका छन् । बाँकेको कोहलपुरमा बिहीबार लघु वित्तीय संस्था र स्थानीय सरकारबिच गरिएको अन्तरक्रियामा बोल्ने सरोकारवाहरुले उक्त कुरा जोड दिएका हुन् । स्थानीय स्तरमा लघु वित्तीय संस्थाहरुले गरेका कामहरुको बारेमा जानकारी दिएको लागि कोहलपुर र बैजनाथमा रहेका लघु वित्तीय संस्थाहरुको आयोजनामा अन्तरक्रिया गरिएको थियो ।
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले समाजमा लघु वित्तीय संस्थाहरुले निम्न आय भएका परिवारहरुलाई माथि उठाउन सहयोग पु¥याइरहेको बताए । ‘समाजमा लघु वित्तीय संस्थाहरुले राम्रो काम गरिरहेको देखेको छु’ उनले भने, ‘यसका केही नराम्रा पक्षहरु समेत मैले देख्छु ।’ बचत गर्ने बानिको विकास भएपनी समुहबाट लिएको ऋण आयमुलक क्षेत्रमा लगाउने नगरेको पाइएको नगर प्रमुख रावतले बताए ।
‘मानिसहरुको पछिल्लो समय समुहमा रकम बचत गर्ने बानिको विकास भएको छ’ उनले भने, ‘तर त्यही समुहबाट निकालेको कर्जा आयमुलक क्षेत्रमा लगाउनुको साटो घर खर्चमा प्रयोग भइरहेको छ ।’ त्यसको नियमन गर्न लघु वित्तीय संस्थालाई उनले आग्रह गरे । नगर प्रमुख रावतले अहिले नगरमा क्रियाशिल रहेका लघु वित्तीय संस्थाहरुसँग आगामी दिनमा स्थानीय सरकार सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
स्वाभलम्वन वित्तीय संस्था कोहलपुरका प्रबन्धक तथा अन्तरक्रिया कार्यक्रमका संयोजक चन्द्र बहादुर थापाले बैंकहरुको पहुँच नपुगेका ग्रामिण क्षेत्रहरुमा समेत लघु वित्त हरु पुगेको बताए । ‘ग्रामिण क्षेत्रहरुमा छरिएका लघु वित्तीय संस्थाहरुले मानिसहरुको जिवनस्तर माथि उकास्न मद्धत पु¥याएका छन्’ उनले भने । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा लघु वित्तीय संस्थाका ५१ हजार भन्दा बढी सदस्यहरु रहेका छन् । उनीहरुमध्ये ३१ हजार सदस्यहरुमा कर्जा प्रवाह गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्