कोहलपुर ।
बाँकेको कोहलपुरमा शुक्रबार सरसफाई गरिएको छ । राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिल्यानगरमा तालिम गरिरहेका विद्यार्थीहरुको सहभागितामा बृहत् सरसफाई गरिएको हो । कोहलपुरको न्युरोड बाट सुरु भएको सरसफाई बसपार्क, चौराहा हुँदै पुनः न्युरोड चोकमा नै पुगेर समापन भएको थियो । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले विद्यार्थीहरु पनि समाजको एक अंग भएकाले सामाजिक कार्यमा लाग्नुपर्ने बताएका थिए ।
‘राष्ट्रिय सेवा दलमा आवद्ध विद्यार्थीलाई नै सामाजिक उत्तरदायित्व बोध गराउने लक्ष्य कार्यक्रमको प्रमुख उद्देश्य हो’ उनले भने, ‘अब विद्यार्थीहरु पनि सामाजिक काममा लाग्नुपर्छ ।’ नगरपालिका अन्तर्गत वातावरण तथा विपद् व्यवस्थापन उपशाखा प्रमुख पुरुषोत्तम पोख्रेलका अनुसार सेवा दल र नगरपालिकाको सहकार्यमा सरसफाई गरिएको हो । शिक्षालयमा तालिम लिई रहेका ११ जिल्लाका साढे तीन सय विद्यार्थीहरुको सरसफाई कार्यक्रममा सहभागिता रहेको उनले बताए ।
‘प्रमुख ज्यु र क्याप्टेन सापको सल्लाहमा कार्यक्रम भएको हो’ उनले भने, ‘समाजमा राम्रो सन्देश प्रवाह गर्ने लक्ष्य हो ।’ राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशल्यानगरमा कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लाका विद्यार्थीहरुले तालिम लिइरहेका छन् । ‘हामी सबैको चाहाना, सफा, सुन्दर, सुरक्षित, समृद्ध, सबल र सक्षम नमूना सिटीको चाहना’ भन्ने मुल नारा सहित सरसफाई गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्