7 September 2024  |   शनिबार, भदौ २२, २०८१

पर्यटकको गन्तव्य बन्दै महेन्द्रपार्क र रानीतलाउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस ६, २०७६  

नेपालगञ्ज ।

नेपालगञ्जको ऐतिहासिक रानीतलाउ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । डेढ दशक अघिसम्म जीर्ण अवस्थामा रहेको नेपालगञ्ज–८ स्थित प्रसिद्ध ऐतिहासिक रानीतलाउको नेपालगञ्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेको सङ्ख्या अहिले बढ्दै गएको छ ।
नगर प्रमुख डा. धवलशम्शेर राणाले स्थानीय तहको गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीयरुपमा विकसित गर्दै लगिएको बताए ।

उपमहानगरपालिकाको करिब रु २५ लाखको लागतमा पुनःनिर्माण गरेको पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन् । यसैगरी नेपालगञ्जकै अर्को ऐतिहासिक महेन्द्रपार्क पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । यस पार्कलाई ‘मिनी जू’ को पनि नाम दिइएको छ । पार्कमा मयुर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्नथरिका चरा पाइन्छन् ।

सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाइने निर्णय गरेरअनुसार उपमहानगरपालिकाले पनि यहाँको पर्यटकीयस्थललाई आकर्षक बनाउने कार्य शुरु गरिसकेको नगर प्रमुख राणाले बताए । नेपालगञ्जको यी दुई पार्कका साथै ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिरको विस्तार, कान्तिताल र वाटरपार्कको निर्माण धमाधम भइरहेको छ । नेपालगञ्ज फोहरमुक्त बनाउन प्लाष्टिकजन्य वस्तुको व्यवस्थापनलाई पनि नगरपालिकाले आफ्नो कार्यक्रममा समेटेको उनको भनाइ छ ।

प्रकाशित मितिः आइतवार, पुस ६, २०७६     11:24:43 AM  |