27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

सम्पादकीय : अनुदानमा अनियमितता रोकौँ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस ४, २०७६  

किसानका हितका लागि भनेर प्रदेश सरकारले प्रदान गरेको अनुदानमा अनियमिमता भएको विषय अहिले चर्चामा छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयद्धारा प्रदान गरिएको अनुदानमा प्रदेशभरी अनियमितता भएका विषय समेत बाहिर आईसकेका छन् ।कृषिमा आत्मनिर्भर र आधुनिकिकरण गराउने भनेर प्रदान गरेको अनुदान दुरुपयोग भएको पाईएको हो । यसलाई सरकारको कमजोरीको रुपमा समेत हेरिन्छ । अनुदान वितरण गर्दा उचित ध्यान नदिदाँको परिणाम सबैले भोगिरहेका छन् । लगानी सम्बन्धित व्यक्ति वा संस्थाले प्राप्त गर्नुपर्नेमा बिचौलियाका कारण दुरुपयोग हुन पुग्यो । लगानी बालुवामा पानी हालेको जस्तै भयो ।

अहिले जिल्ला जिल्लामा भएका दुरुपयोग र अनियमितताका घटना बाहिर आईरहेका छन् । यहाँका किसानहरु मन्त्री आरती पौडेल कै अगाडी अनुदान प्राप्त भएन भने रुन्छन्, कराउँछन् । यो पिडा अनुदान प्राप्त नगर्नेहरुको हो । पाउनेको हालत झन् देखि नसक्नु छ । कसले सम्झौता अनुसारको पैसा पाएका छैनन् । कसैले काम नै नगरी अनुदान पाएको समेत भेटिन्छ । मन्त्रालयले अनुदान दिएको शिर्षक एक छ तर अर्को शिर्षकमा अनुदानको रकम खर्च भएको छ । अनुदान कार्यक्रमलाई नै असर गर्ने खालका गतिविधि भईरहेका छन् । तर कूनै पनि निकाय र सरोकारवालाबाट अनुगमन हुन सकेको छैन ।

पहिलो वर्ष लागु भएको कार्यक्रमले कृषि मैत्री बनाउने सरकार र मन्त्रीका भाषण भाषणमै सिमित हुने देखिन्छन् । अनुदानमा चलखेल किन भयो, कसको हात छ र यस्तै गैरकानुनी काम कसले गरेको हो भन्ने खुल्न सकेको छैन । अनुदानमा अनियमितता भएको मन्त्रालयले नै स्वीकार गरेको छ । गत वर्षको अन्त्यतिर कार्यक्रम लागु गर्दा समय छोटो भएकोले र अनुदानको महत्व बुझ्न नसक्दा समस्या उत्पन्न भएको हो भनिन्छ । अनुदान प्राप्त गर्ने समूह र सहकारीको पनि मिलेमत्तोको आंशका गरिन्छ । खास को हो त दोषि यस बारेमा विस्तृत रुपमा अनुसन्धानको घेरामा ल्याउन आवश्यक देखिन्छ ।

प्रकाशित मितिः शुक्रबार, पुस ४, २०७६     10:40:09 AM  |