कोहलपुर ।
बाँके बैजनाथ गाउँपालिका ४ का स्व.भुवन ढुंगानाको श्रीमती कल्पना ज्ञवालीलाई बिमा दाबी भुक्तानी गरिएको छ । मंगलबार वडा अध्यक्ष कालीबहादुर सिंहले बिमा दाबी भुक्तानी बापतको ६ लाख रुपैयाँको चेक श्रीमती कल्पनालाई हस्तान्तरण गरेका थिए । नेशनल लाईफ इन्सोरेन्सले बीमा दाबी भुक्तानी दिएको हो । उक्त अवसरमा बोल्दै उनले बीमामा भुक्तानी झन्झटिलो हुन्छ भन्ने केही मान्छेमा रहेको भ्रमलाई यो भुक्तानीले प्रस्ट पारिदिएको बताए ।
नेशनल लाईफ नेपालगञ्ज कार्यालयका प्रमुख दीपनारायण खनालले बीमा कम्पनीको काम नै भुक्तानी दिनु भएको बताए । दुर्घटनाको केशमा भुक्तानी दिन कम्पनी सधैं आतुर रहने उनले दाबी गरे । स्व. भुवनले आफ्नो छोरा शाश्वत ढुङ्गानाको ६ लाखको बीमा बनाई दुई किस्ता मात्रै बुझाएका थिए । केही समय अघि सडक दुर्घटनामा भुवन निधन भएको थियो । प्रस्तावकको समेत जोखिम बहन हुने सो योजनामा तत्काल बीमाङ्क रकम ६ लाख आश्रित परिवारलाई भुक्तानी गरिएको हो ।
सो बीमा योजना अनुसार प्रस्तावकको मृत्यु भएमा बीमालेख कायमै रही बाँकी अवधीको शुल्क मिनाहा भएको छ । पुनः बीमा अवधी समाप्तीसम्म पूरै अवधीको बोनससहित करिब १२ लाख रुपैयाँ भुक्तानी गरिने नेशनल लाइफ नेपालगञ्ज कार्यालयका प्रमुख खनालले बताए ।
प्रतिक्रिया दिनुहोस्