पश्चिम तराईमा शितलहर, नेपालगञ्जको न्यूनतम तापक्रम १२ डिग्री



कोहलपुर ।

बाँकेसहित पश्चिम तराईमा मंगलबारदेखि चिसो बढेको छ । बाँके, बर्दिया, कैलाली, भैरहवा लगायतका जिल्लामा हुस्सु, कुहिरो र शितलहर चलेसँगै चिसो बढेको हो । हुस्सुसँगै चलेको शितलहरको कारणले नेपालगञ्ज, कोहलपुर, गुलरिया, कैलाली लगायतको क्षेत्रको जनजिवन समेत प्रभावित भएको थियो । शितलहरसँगै बढेको जाडोका कारण बिहानै स्कूल एवं कलेज पढ्ने विद्यार्थी, शिक्षक, मजदुरहरु धेरै प्रभावित बनेका थिए ।

नेपालगञ्जको त्रिभुवन चोक नजिकै मंगलबार आगो ताप्दै मानिसहरु ।                                                                                                                                                            तस्बिरः मिसन

मंगलबार दिनभर बाँके लगायतका जिल्लाहरुमा घाम लागेको थिएन । चिसो र शितलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । चिसो बढेपछि स्थानीय बासिन्दाले दिनभर ठाउँ–ठाउँमा आगो बालेर तापिरहेका थिए । कतीपय स्थानहरुमा स्थानीयबासीहरुले दाउरा नहुँदा टायर र कागज बालेर आगो तापिरहेका थिए । बिहानैदेखि हुस्सुसहित शितलहर चलेपछि नेपालगञ्ज कोहलपुर लगायतका स्थानहरुमा चहलपहल समेत न्युन रहेको थियो । मानिसहरु अत्यआवश्यक काम बाहेक मंगलबार घरबाहिर निस्किएनन् । सरकारी कार्यालय तथा बजारमा समेत मानिसहरुको चहलपहल अन्य दिनको तुलनामा न्युन रहेको थियो । नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीका दयाराम कुर्मीले चिसोले समस्या पारेको बताए ।

‘शितलहर सँगै बढेको चिसोले काम गरिखान गाह्रो बनायो’ उनले भने, ‘दैनिक ज्यालादारी गरेर खाने हामीजस्तालाई मजदुरी गरेर परिवार पाल्न समस्या बनाएको छ ।’ शितलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ । चिसो बढेसँगै बालबालिकामा निमोनिया र श्वासप्रश्वासको समस्या देखिएको नेपालगञ्ज मेडिकल कलेजका बालरोग विशेषज्ञ डा. रोमा बोराले जानकारी दिइन् ।

‘केही दिनयता बढेको चिसोको कारण बिशेष गरी बालबालिकाहरुमा स्वास्थ्य समस्या देखिन थालेको छ’ उनले भनिन्, ‘अस्पतालमा समेत बिरामीहरुको संख्या बढिरहेको छ ।’ बालरोग विशेषज्ञ डा. बोराले चिसोबाट बच्नको लागि बालबालिकाहरुलाई तातो झोलकुरा खुवाउन, चिसोमा खेल्न नदिन सबैलाई आग्रह गरिन् । स्थानीय अपस्तालमा समेत चिसो बढेसँगै बिरामीहरु समेत बढ्न थालेका छन् ।

नेपालगञ्ज मेडिकल कलेज, भेरी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीहरुको चाप बढ्ने थालेको छ । चिकित्सकहरुका अनुसार उपचारका लागि आउने अधिकांश बिरामीहरु चिसोको कारणले सताएका हुने गरेका छन् । चिसोले जाडोयामको कपडाको व्यापार भने बढेको छ । नेपालगञ्ज न्युरोडमा कपडा व्यवसाय गर्ने शुशिला निरौला शर्माले चिसोका कपडाहरु खरिद गर्न आउनेहरु बढेको जानकारी दिइन् ।

‘पहिलेका दिनभन्दा मंगलबार चिसो बढेसँगै न्यानो कपडा खरिद गर्न मानिसहरुको भिड लागेको थियो’ उनले भनिन्, ‘अधिकांश ग्राहकको रोजाईमा अहिले न्यानो कपडा नै पर्छ ।’ केही दिन अघिको वर्षाका कारण जलवाष्पयुक्त हावा विकास हुँदा देशभर कुहिरो लागेको मौसमविद्ले बताएका छन् । केही दिन अब मौसम यस्तै रहने पनि उनीहरुले बताएका छन् ।

बाँकेको नेपालगञ्जको न्यूनतम तापक्रम मंगलबार १२ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । राँझा विमानस्थलमा रहेको जल तथा मौसम मापन केन्द्रका अनुसार मंगलबार बिहान यहाँको न्यूनतम तापक्रम १२ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको हो । केन्द्रकी नायब मौसम विज्ञान सहायक योजना वस्ताकोटीका अनुसार न्यूनतम तापक्रम १२ दशमलव २ डिग्री सेल्सियस मापन गरिदा अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । सोमबार मात्र नेपालगञ्जको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको उनले जानकारी दिइन् । जल तथा मौसम विज्ञानका अनुसार मंगलबार भैरहवाको न्यूनतम तापक्रम १५ दशमलव २, धनगढीको १२ दशमलव ४, जनकपुरको १२ दशमलव शून्य तथा विराटनगरको १५ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २ गते बुधबार