कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको निलसागर अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा निशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरिएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बिहीबार सेवा केन्द्रमा रहेका वृद्धवृद्धाको निशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका उपनिर्देशक डा. सुमित पाण्डेको निर्देशनमा गएको २ जना चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । वृद्धावृद्धको स्वास्थ्य परीक्षण मेडिकल कलेजका डा. देवेन्द्र आचार्य र डा. हरि बोहोराले गरेका थिए ।
त्यहाँ रहेका १४ जना वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको डा. आचार्यले जानकारी दिए । उनका अनुसार स्वास्थ्य परीक्षणको क्रममा चिसोको कारण झाडापखाला, रुघाखोकी, दम जस्ता रोगका बिरामीहरु भेटिएका थिए । ‘हामीले समय समयमा विभिन्न सामाजिक कार्य गरिरहेका हुन्छौं’ डा. आचार्यले भने, ‘आगामी दिनहरुमा पनि निःशुल्क स्वास्थ्य परीक्षण लगायतका कार्यक्रमहरु गर्ने छौं ।’
अस्पतालका उपनिर्देशक डा. पाण्डेले शहरी क्षेत्रमा मात्र नभएर आगामी दिनहरुमा दुर्गम गाउँहरुमा समेत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने जानकारी दिए । उनका अनुसार निशुल्क स्वास्थ्य परीक्षण पश्चात निलसागर अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत स्टाफ नर्स विनाता हिसानलाई रुघाखोकी, पखाला, टाउको दुख्ने लगायतका औषधिहरु निःशुल्क रुपमा प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्