सवारी दुर्घटनामा शिशुसहित दुईको मृत्यु



कोहलपुर ।

पुर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका २ जिरो प्वाईन्ट नजिक सवारी दुर्घटना हुँदा ३ दिने नवजात शिशुसहित दुई जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार शनिबार दिउँसो एम्बुलेन्स र ट्रक ठोक्किदा ३ दिने शिशुसहित दुई जनाको मृत्यु भएको हो । नेपालगञ्जबाट सल्यान जाँदै गरेको रा १ ज १६१ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बर पुर्व पश्चिम राजमार्गको जिरो प्वाईन्ट नजिक ठोक्किएका थिए ।

कोहलपुर प्रहरीका अनुसार दुर्घटनामा परेर दाङ दंगीशरण गाउँपालिका वडा नं. ५ खलुवाचिसका तिलकराम खड्काका ३ दिनका छोरा र एम्बुलेन्स चालक सल्यान छत्रेश्वरी गाउँपालिका– १ का चित्रबहादुर सुनारको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । दुर्घटनामा परेर मृतक शिशुका वुवा तिलकराम र आमा मालति खड्का घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये तिलकरामको अवस्था सामान्य रहेको छ भने मालति गम्भिर घाइते भएकी छिन् । गम्भिर घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

तीन दिन अघि बच्चाको उपचार गर्न गएको खड्का परिवार शनिबार एम्बुलेन्समा दाङ फर्किदै गर्दा दुर्घटनामा परेको हो । एम्बुलेन्स छत्रेश्वरी गाउँपालिका अन्तरगतको दमाचौर स्वास्थ्य चौकीको रहेको छ । शुक्रबार दमाचौरबाट एकजना घाईतेलाई लिएर एम्बुलेन्स नेपालगञ्ज पुगेको थियो । सल्यान फर्किने क्रममा दाङका शिशुसहित अन्य दुई जना आफन्तलाई लिएर दाङ जाँदै गर्दा बाटोमा नै शनिबार दिउँसो एम्बुलेन्स दुर्घटनामा परेको हो । तिव्र गतीका कारण दुर्घटना भएको हुनसक्ने बाँके ट्राफिकले अनुमान गरेको छ । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार