सुर्खेतमा गौशाला निर्माण



चेत नारायण पाण्डेय । सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा छाडा पशु चौपाया बढ्दै गएपछि गौशाला निर्माण गरिएको छ । पशु चौपाया व्यवस्थापन लागि प्रदेश सरकारको लगानीमा गौशाला निर्माण गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ को सिमलकुनामा निर्माण गरिएको गौशालामा हाल पाँचवटा गाई राखेर कामको सुरुवात गरिएको छ । तीनवटा उत्पादन दिने र २ वटा उत्पादन नदिने गाई गौशालामा राखिएको केपी व्यवसायका प्रबन्ध निर्देशक कृष्णप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार ४८ देखि ५० पशुचौपाया अट्ने गौशाला निर्माण गरिएको छ । सडकका पशु चौपाया गौशालामा ल्याउनु अघि पशुहरुको स्वास्थ्य अवस्था जाँच्नुपर्ने भएकाले अबको केही दिनमा नै सडकमा भएका पशुहरुलाई गौशालामा लैजानका लागि गौशाला विधिवत रुपमा सुचारु गरिने उनले बताए । गौशालामा परिक्षणको लागि पहिलो चरणमा ५ वटा गाई राखिएको उनले दाबी गरे । प्रदेश सरकारको ४० प्रतिशत र निजी क्षेत्रको ६० प्रतिशतको लगानीमा गौशाला निर्माण गरिएको हो ।

गौशाला निर्माणका लागि कर्णाली प्रदेश भूमि, व्यबस्था कृषि तथा सहकारी मन्त्रालयले १९ लाख ६० हजार आर्थिक सहयोग गरेको थियो । ढकालका अनुसार वीरेन्द्रनगर नगरपालिकाले २ लाख ३८ हजार घाँसको लागि भन्दै आर्थिक सहयोग गरेको छ । केपी व्यवसाय कम्पनीद्धारा सञ्चालित गौशाला साउन महिनामै निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा आउन सकेको थिएन । सबै स्थानीय तह सँगको सहकार्यपछि मात्रै गौशाला पुर्ण रुपमा सञ्चालनमा आएको हो । गौशाला पुर्ण रुपमा प्रयोगमा आएसँगै बायोग्यास समेत सञ्चालनमा ल्याइने र त्यसका लागि अन्तिम तयारी भई रहेको निर्देशक ढकालले बताए ।

उनका अनुसार गौशालाबाट बायोग्यास उत्पादन गर्ने, बायोग्यासबाट निस्किएको फोहोरलाई जैविक मलका रुपमा प्रयोग गर्न सकिने छ । स्थानीय मललाई व्यवस्थित गरी कम्पोष्ट मल बनाउने र गाईको पिसाबको मानव जिवनमा हानी नपु¥याउने किटनाशक विषादी बनाउने योजना भएको ढकालको भनाई छ । वीरेन्द्रनगरमा छाडा छोडिएका पशु चौपायाले सडक दुर्घटना बढेको थियो । नगरपालिकालाई छाडा पशुचौपाया व्यबस्थापन गर्न चुनौती बनिरहेको थियो । तर गौशाला निर्माण भएपछि पशुचौपायाको व्यबस्थापन हुने अपेक्षा नगरपालिकाले लिएको छ ।

छाडा पशुचौपायाको व्यवस्थापनको लागि भन्दै पुष पहिलो हप्तादेखि नै पशुको गणना गरिने ढकालले बताए ।उनका अनुसार पशुलाई ट्याग लगाएर छाडा छोडिएका र घर पालिएका पशु चिनिने गरि पशुगणना समेत गरिने उनको भनाई रहेको छ । आम्दानी हुने बेला सम्म पशु घर पालिने र आम्दानी दिन छाडेपछि सडकमा लगेर छोड्ने गरेको भन्दै पशुको गणना गरि ट्याग गर्न सकेमा पशुचौपाया छाडा छोड्ने प्रवृतिमा कमी आउने विस्वास गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २१ गते शनिबार