ट्रकले किच्दा दुईको मृत्यु



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा बुधबार दिउँसो ट्रक किच्दा दुई पुरुषको मृत्यु भएको छ । धम्बोझी चोक नजिकै रहेको भेरी पेट्रोलपम्प नजिक मिनि ट्रकले साइकल यात्रीलाई किच्दा उक्त दुर्घटना हुन पुगेको थियो । प्रत्यक्षदर्शीका अनुसार नेपालगञ्जदेखि कोहलपुर तर्फ गइरहेको भे १ ख २८४७ नम्बरको मिनी ट्रकले सोही दिसामा गइरहेको साइकल यात्रीलाई किचेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका १८ का बलबहादुर रावल र अर्का नाम ठेगाना नखुलेका पुरुष रहेका छन् ।

मृतक रावल वडा प्रहरी कार्यालय नेपालगञ्जमा कार्यालय सहयोगी पदमा कार्यरत रहेका थिए । ट्रकको ठक्करबाट गम्भीर घाईते दुवैजनाको नेपालगञ्ज स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । चालकको लापरबाहीका कारण दुर्घटना हुन पुगेको प्रहरीले अनुमान गरेको छ । दुर्घटना लगत्तै मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ । तिव्र गतिमा रहेको ट्रकले ठक्कर दिदाँ दुवैजनालाई घसारेर केही परसम्म लगेको थियो । मृतकको टाउको, छाति र हातखुट्टामा क्षति पु¥याएको थियो । नेपालगञ्ज नगरको अति व्यवस्त स्थानमा नै दुर्घटना बढ्न थालेपछि स्थानीयहरु भने त्रसित बनेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १९ गते बिहीबार