क्रिकेट प्रतियोगिता कोहलपुरमा सुरु



कोहलपुर ।

बाँकेको कोहलपुरमा स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा कोहलपुर एकेडेमी विजयी भएको छ । उसले जेगवार स्पोर्टस क्लबलाई ८९ रनले पराजित गरेको थियो । खेलमा टस जितेर पहिला व्याटिग गरेको कोहलपुर एकेडेमीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । उसका लागि शुबेन्दु पान्डेले ४१, टेक रावतले १८, शिव डाँगीले १७ रन जोडे ।

जेगवारका बलर सम्मु खान र सैजादे खानले २ र २ विकेट लिएका थिए । जबाफी व्याटिगमा आएको जेगवारले ८ ओभरमा अल आउट हुँदै ३६ रन मात्र जोड्न सक्यो । उसका लागि मनोज यादवले ९ रन जोडनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । कोहलपुरका बलर लवकुश यादव ३ ओभरमा ७ रन दिएर ५ विकेट लिए । उसका लागि मक्बुल राइले ३ र दिपेन्द्र रावतले २ विकेट लिएका थिए ।

आगामी १२ गते सम्म प्रस्तावित कोहलपुर अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेल हुने प्रतियोगिताका संयोजक सरोवर प्रसाईले जानकारी दिए । प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफ्ना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैयाँ पाउनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ८ गते आइतबार