कोहलपुर ।
बाँकेका दुई स्थानीय तहमा गरिएको नमूना सर्वेक्षणमा ७४ जनामा मानिसहरुमा हात्तीपाईले रोगको संक्रमण भेटिएको छ । केहीदिनयता जिल्लाका दुई स्थानीय तहका तीन वटा वडामा हात्तीपाईले रोगको नमुना सर्वेक्षण गरिएको थियो । सो नमूना सर्वेक्षणमा ७४ जनामा हात्तिपाईलेको परजिवि भेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ र कोहलपुर नगरपालिका वडा नम्बर ५ र ६ मा वेश लाइन सर्वे गरिएको हो । स्वास्थ्य कार्यालय बाँकेकी राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रमकी फोकल पर्सन दुर्गा गौतमले तीन वटा वडाका ६ सय ६१ जनामा नमूनाको रुपमा परीक्षण गरिएको बताइन् । ती मध्ये ७४ जनामा हात्तिपाइलेको परजिवि देखिएको उनले जानकारी दिइन् । मगंलबार नेपालगञ्ज ४ को सल्यानीबाग र बुधबार कोहलपुर नगरपालिकाको ५, ६ रझेनामा हात्तिपाइले रोगको नमुना सर्वेक्षण गरिएको थियो ।
नेपालगञ्जको सल्यानीबागमा ३ सय १६ जना मानिसहरुमा गरेको सर्वेक्षणमा ११ जनामा हात्तिपाइले रोगको परजिवि देखिएको फोकल पर्सन गौतमले जानकारी दिइन् । उनका अनुसार कोहलपुरको रझेनामा ३ सय ४५ जनामा गरिएको सर्वेक्षणमा ६३ जनामा हात्तिपाइलेको परजिवि देखिएको थियो । ‘नमुना सर्वेक्षण हामीले १३ देखि ७० वर्ष उमेर समूहका मानिसहरुमा गरेका थियौं’ फोकल पर्सन गौतमले भनिन्, ‘हात्तिपाईले कार्यक्रम सुरु भएदेखि कोहलपुरको रझेनामा सबै भन्दा पहिले सर्वेक्षण गरेका हौं । तर अझै पनी सोचेजस्तो सफलता पाउन सकेका छैनौं ।’ जिल्लामा पहिलो पटक २०६६ सालमा राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम लागु भएको थियो ।
हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन थालेको एक दशक बितिसक्दा पनी रोगको परजिवी न्युनिकरण हुन सकेको छैन । अहिले पनि जिल्लामा १२ प्रतिशत मानिसहरुमा हात्तिपाईले रोगको परजिवि रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार २०६६ सालमा कार्यक्रम लागु हुदाँ जिल्लाको २० प्रतिशत जनसंख्यामा हात्तिपाईले रोगको परिजिवी रहेको थियो । राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रमको लक्ष्य अनुसार अहिले सम्म बाँकेबाट पुर्ण रुपमा हात्तिपाइले निवारण भईसक्नु पर्ने हो ।
‘पहिलो र दोस्रो चरणमा गरी १० वर्ष कार्यक्रम लागु भयो’ फोकल पर्सन गौतमले भनिन्, ‘तर बाँकेमा प्रभावकारी हुन सकेन, प्रभावित क्षेत्रका मानिसहरुले एकैपटक औषधि सेवन नगरिदिदाँ समस्या भएको हो ।’ प्रभावित क्षेत्रका नागरिक हात्तिपाईले रोगका बारेमा जानकारी कम र औषधि सेवन गर्न नमानेका कारण प्रभावकारी नदेखिएकोे उनले बताईन् ।
हात्तिपाईले रोगबाट प्रभावित ६६ जिल्ला मध्ये ५० जिल्लामा अन्त्य भइसकेको छ । हात्तिपाईले रोग निवारण भएको सुचक पुरा गर्नको लागि कम्तिमा १ प्रतिशतमा झरेको हुनुपर्छ । कार्यक्रम असफल देखिएका मध्ये बाँके जिल्ला पनि एक हो । बाँके जिल्लामा हात्तीपाइले रोगविरुद्ध नौ पटक औषधि खुवाई सकिएको छ ।
हात्तिपाईले विरुद्धको औषधी वर्षमा एकपटक खुवाइन्छ । तर, नतिजा सन्तोषजनक नआएपछि पुनः सर्वे गरिएको हो । तेस्रो चरणमा ६ सय ६१ जनामा गरिएको सर्वेक्षणको नतिजा अनुसार आगामी योजना तय गरिने फोकल पर्सन गौतमले जानकारी दिईन् ।
कोहलपुर नगरपालिका अन्तर्गत नगर स्वास्थ्य शाखा प्रमुख गिर बहादुर गुरुङ्गले वेश लाईन सर्वेको क्रममा कोहलपुरमा धेरै जनामा देखिएकोले निवारणका लागि कार्यक्रम अघि बढाईने बताए । उनका अनुसार स्वास्थ्य कार्यालयको सहकार्यमा प्रभावित क्षेत्रमा जनचेनतामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।








प्रतिक्रिया दिनुहोस्