नगर सभापति सन्दिपजंग शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश



नेपालगञ्ज ।

नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहलाई जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

सरकारी वकिल कार्यालय बाँकेले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालत बाँकेका मुद्दा दर्ता गरेको थियो ।

उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि सोमबार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अन्य तीन जनालाई अदालतले जनही एक लाख पचास हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गत कार्तिक १४ गते राती साढे ८ बजेको समयमा उनीहरु जानकी गाउँपालिका ६ मा रहेको नमस्ते भिलेज रिसोर्टबाट मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल र गोलीसहित पक्राउ परेका थिए ।

रिसोर्टमा पार्किङ गरिएको बा १८ च ४२११ नम्बरको कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पेस्तोल र गोली फेला पारेको थियो । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २ गते सोमबार