ठूलो परिमाणको चरेससहित पाँच पक्राउ




बर्दिया ।

बर्दियाको गुलरीयाबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको बिशेष प्रहरी टोलीले गुलरिया नगरपालिका ७ भन्सार रोडबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार पक्राउ पर्नेमा पूर्वी रुकुमको खवाङ्ग घर भइ दाङको घोराही बस्ने ३४ वर्षीय राजकुमार पुनमगर, मुसिकोट नगरपालिका, १ घर भइ घोराही बस्ने २७ वर्षीया जुनतारा पुन, रुकुम घर भइ दाङमै बस्ने ३४ वर्षीया सुनथामी बुढामगर, रुकुम तक्सेर २६ वर्षीया अस्मिता रामजाली र रोल्पा पाछाबाङ घर भइ दुईखोली बस्ने २९ वर्षीय खीमप्रसाद रोकामगर रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा गुलरिया नगरपालिका ७ भन्सार रोडमा हिँडिरहेको अवस्थामा ५८ किलो चरेससहित नियन्त्रणमा लिइएको उनले बताए । उनीहरुले चरेस नेपालगञ्जबाट गुलरीया हुँदै भारत लैजादै गर्दा पक्राउ परेका हुन् । उनीहरुको साथबाट चरेससहित नगद ३२ हजार ५९८ रुपैयाँ र ५ थान मोवाइलसमेत नियन्त्रणमा लिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २ गते सोमबार