कोहलपुर ।
बाँकेको कोहलपुरमा आइतबार दिउँसो चितुवाको आक्रमणमा परेर एक महिलाको ज्यान गएको छ । कोहलपुर नगरपालिका १३ नयाँबस्तीकी ६५ वर्षिया काली बस्नेतको चितुवाको आक्रमणमा परेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
आइतबार अपरान्ह ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्ज अन्तरर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ भन्ने स्थानमा दाउरा लिन गएकी बस्नेतलाई चितुवाले आक्रमण गरेको बताइएको छ । स्थानीय निरक बहादुर शाहीका अनुसार दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा मृत अवस्थामा भेटिएकी थिइन् । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा पाटेबाघको आक्रमण बढेको छ ।
बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन् । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको बताइन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्