नेटवर्किङको नाममा ठगी गर्ने चार पक्राउ



बर्दिया ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–४ का विवक थारु, सोही नगरपालिकाको वडा नं ५ का हिमाल भन्ने प्रजय चौधरी, बारबर्दिया नगरपालिका–७ का दीपक चौधरी र राजापुर नगरपालिका ३ की आशा थारु रहेका छन् ।

ओरेञ्ज ग्लोबल मार्केटिङ प्रालि नामक बहुर्राष्ट्रिय कम्पनीमार्फत नेटवर्किङको नाममा ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार आफूहरू ठगिएको भन्दै स्थानीय पाँच जनाले संयुक्तरुपमा निवेदन दिएका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

नेटवर्किङ व्यापारको अनुसन्धान गर्ने क्रममा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लाका २०० सर्वसाधारणलाई नाकाबाट उद्धार गरिएको प्रहरी उपरीक्षक बास्तोलाले बताए । पक्राउ परेका चारै जनाविरुद्ध ठगी मुद्दामा जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाइएको बर्दिया प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बहुर्राष्ट्रिय कम्पनी ओरेञ्ज ग्लोबल मार्केटिङ प्रालि नामक कम्पनी सिङ्गापुर, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, श्रीलङ्का, भूटानमा सक्रिय रहेको छ ।

भारतको चेन्नइमा प्रधान कार्यालय तथा नयाँदिल्लीमा शाखा कार्यालय स्थापना गरी नेपाल–भारत सीमा नजिक लखिनीपुर भन्ने स्थानमा नेचरल वैल इण्टरप्राइजेज नामक उपशाखा कार्यालयले नेटवर्किङ व्यवसायको नाममा विभिन्न खाद्य वस्तुको उत्पादन गरी सर्वसाधारणलाई ठगी गर्दै आएको छ । पछिल्लो समय नेटवर्किङ व्यवसाय सञ्चालन गरेर बाँके, बर्दिया, कैलाली दाङ लगायतका जिल्लामा सर्वसाधारण ठगिन थालेको उजुरी पर्न थाले पछि प्रहरीले नेटवर्किङमा संलग्नलाई नियन्त्रणमा लिन सुरु गरेको हो । यसबारे अझै सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताउँदै बर्दिया प्रहरीले कोही ठगिएको भए प्रहरीमा उजुरी दिन आग्रह समेत गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक १७ गते आइतबार