नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जस्थित धम्बोझी चोक नजिकै रहेको बागेश्वरी इलेक्ट्रो प्लाजाले आफुले काटेका रेलिङहरु जोडेको छ । केही दिनअघि प्लाजाले चोरी शैलीमा फोर लेन सडक निर्माणको क्रममा लगाइएका रेलिङहरु रातारात काटेको थियो । रेलिङ काटिएपछि सबैतिरबाट दोषिलाई कारवाही गर्नुपर्ने आवाज उठ्न थालेपछि फेरी प्लाजाले बिहीबार रातारात रेलिङ जोडेको हो । बिहीबार राती ११ बजेदेखि ११ः४० बजेसम्म प्लाजाले तीन जना मजदुर लगाएर रेलिङ जोडेको थियो । राती सवा ११ बजे मिसनकर्मी धम्बोझी चोकमा पुग्दा मजदुरहरुले धमाधम रेलिङहरु जोडिरहेका थिए । धम्बोझी चोक स्थित बागेश्वरी इलेक्ट्रो प्लाजाको सामुन्ने रहेका सडक पेटीसगैं निर्माण गरिएका ६ वटा रेलिङ काटिएका थिए ।
तीनै रेलिङ राती मजदुर लगाएर प्लाजाले आफैं जोडेको हो । प्लाजाले सडकपेटीसँगै जडान गरिएको रेलिङ काटिएको सेतोखरीले समाचार सम्प्रेषण गरेपछि सर्वत्र आलोचना भएको थियो । उक्त रेलिङ प्रहरीकै मिलेमतोमा त्यहाँ नजिकै व्यवसाय सञ्चालन गरेका बागेश्वरी इलेक्ट्रो प्लाजाका सञ्चालकले काटेको स्थानीय तथा प्रत्यक्षदर्शीले बताउँदै आएका थिए । सेवाग्राही आवतजावतका लागि असहज भएको भन्दै उक्त प्लाजाका सञ्चालक विष्णु अर्यालले ती रेलिङ् रातारात काट्न लगाएको बताइन्छ ।
चौबिसै घण्टा प्रहरीको निगरानीमा रहेको स्थानमा नै ६ वटा रेलिङ एकैपटक काटिँदा समेत प्रहरी बेखबर झै बनेको थियो । राजनीतिक तथा व्यवसायी आडमा एकदमै आफूलाई शक्तिशाली सम्झने विष्णु अर्याल र बाँके प्रहरीबीच सेटिङ भैएकै कारण सो स्थानको रेलिङ काटिएको बताइन्छ । सार्वजनिक सम्पत्ति हानी नोक्सानी पु¥याउने ती व्यवसायीलाई प्रहरीले पक्राउ गरेर कारवाही गर्नुको साटो गुपचुपमै पुनः रेलिङ जडान गर्न लगाएको हुनसक्ने अनुमान गरिएको छ । एशियाली विकास बैंक (एडिबी) को लगानीमा निर्माण भएको कोहलपुर–जमुनाह फोरलेन सडक अन्र्तगत नेपालगञ्ज बजार क्षेत्रमा लाखौ लगानीमा सडकको किनारमा रेलिङ निर्माण गरिएको थियो ।
यस बिषयमा बागेश्वरी इलेक्ट्रो प्लाजाका सञ्चालक विष्णु अर्यालसँग बुझ्दा खोज्दा उनले फोन उठाएनन् । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य भने यसरी रेलिङ काट्न नहुने बताउँछन् । ‘सडकमा लगाइएको रेलिङ आफ्नो मनपरीमा कसैले पनि काट्न पाउँदैन’ उनले भने, ‘धम्बोझीमा यसरी रेलिङ नै व्यवसायीले कोटेको भए उक्त काममा संलग्न कुनैपनि व्यवसायीलाई तत्काल कानूनी कारवाहीमा ल्याउनुपर्छ ।’ केहि महिना अघि कोहलपुरमा पनि कोहलपुर उद्योग वाणिज्य संघले रेलिङ काटेपछि चौतर्फी विरोध भएको थियो । यो विवाद अझै साम्य हुन सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्