19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

आलम पक्राउ विरूद्ध कांग्रेसका सांसददेखि मेयरसम्म जुलुसमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६  

१२ वर्षअघिको रौतहट बमविष्फोट र सामुहिक हत्याकाण्डमा संलग्न भनिएका नेपाली कांग्रेसका मोहम्मद अफताब आलमको पक्राउ विरूद्ध रौतहट कांग्रेसले मौन जुलुस निकालेको छ।

पौने १२ देखि १ बजेसम्म रौतहटको गौरस्थित बसपार्कदेखि राइसमिलसम्म मौन जुलुस निकालिएको थियो। मौन जुलुसका सहभागीहरूले मुखमा कालोपट्टी बाँधेर हिँडेका थिए।

जुलुसमा प्रदेश सांसद धनलाल थोकरदेखि राजपुर नगरपालिकाका मेयर शेख सकिलसम्म सहभागी थिए। जुलुसमा जिल्ला सभापति कृष्ण यादव, वृन्दावन नगरपालिकाका मेयर रमेश सिंह राय यादव, परूवा नगरपालिकाका मेयर शेख वकिल लगायतको सहभागिता थियो।

कांग्रेसको केन्द्रले भने आलममाथिको अनुसन्धानमा सहयोग गर्ने बताएको छ। आजै अदालतले आलममाथि अनुसन्धान गर्न ८ दिनको म्याद थपिदिएको छ।

म्याद थपका लागि अदालत ल्याइएका आलमले आफूविरूद्ध राजनीतिक प्रतिशोध साँध्न १२ वर्षअघिको हुँदै नभएको घटनामा आफूलाई मुछिएको बताए।

आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते (आइतबार) रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको हो। उनलाई प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो।

१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ।

विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन्। आलम अदालतबाट दोषी ठहर भएमात्र उनी निलम्बनमा पर्नेछन्। – Setopati.com

प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६     3:06:28 PM  |