रावन बिश्वकर्मा । बाँसगढी ।
बर्दियाको बाँसगढी क्षेत्र पछिल्लो समयमा शिक्षाको हवको रुपमा विकास हँुदै गएको छ । केही समय पहिले बाँसगढी क्षेत्रबाट उच्च शिक्षा, प्राबिधिक शिक्षा र बिभिन्न तयारी कक्षाको लागि अन्य शहरहरुमा जानु पर्ने बाध्यता थियो । तर अहिले भने पढ्नको लागि अन्यन्त्र जानु पर्ने बाध्यता विस्तारै हराउँदै जान थालेको छ । बाँसगढी हरेक क्षेत्रमा बिकासउन्मुख भईरहेको अवस्थामा शिक्षा क्षेत्रको पनि बिकास हँुदै गएको हो ।
बाँसगढी क्षेत्रमा अहिले उच्च शिक्षा अध्ययन गर्न बाँसगढी बहुमुखी क्याम्पस र बर्दिया बहुमुखी क्याम्पस गरी २ वटा क्याम्पसहरु छन् । त्यस्तै प्लस टु अध्ययनको लागि पनि ने.रा. मावि बाँसगढी, नेरा मावि लक्ष्मणपुर, त्रिभुवन मावि ककौरा, बाँसगढी एकेडेमीक पब्लीक स्कुल सबै विद्यार्थीको रोजाईमा परेका छन् । यसले गर्दा उच्च शिक्षा र प्लट टु सम्म अध्ययनको लागि पनि बाहिर जानु पर्ने बाध्यता हटेको छ । बाँसगढी क्षेत्रले प्राबिधिक शिक्षामा पनि फड्को मारेको छ । बाँसगढी क्षेत्रमा बिभिन्न विद्यालयहरुले सिटिभिटीद्धारा मान्यता प्राप्त प्राबिधिक शिक्षा अध्ययनको लागि व्यवस्था मिलाएका छन् ।
प्राबिधिक शिक्षा अध्ययनको लागि जनप्रिय मावि दमौलीमा १५ महिने कृषि जेटिए र भेटनरी जेटिए, जनता मावि बठुवामा ३ बर्षे बाली बिज्ञान, नेरा मावि बाँसगढीमा ३ बर्षे डिप्लोेमा ईन कम्युटर ईन्जिनियरिङ र सिभिल ईन्जिनियरिङ, त्रिभुवन मावि ककौरामा पनि कम्युटर ईन्जिनियरिङ बिषयमा अध्ययन भईरहेको छ भने बाँसगढी क्षेत्रका सरकारी विद्यालयहरुमा पनि कम्युटर शिक्षाको लागि छुटै शिक्षकको व्यवस्था गरिएको छ । त्यस्तै जनता मावि बठुवामा पशु विज्ञान र पुर्णहिरा मावि लक्ष्मणामा अटो मोबाईल अध्ययन समेत हुने भएको छ ।
बाँसगढी क्षेत्रबाट निजामति सेवा प्रवेश, शिक्षक सेवा आयोगको तयारी कक्षा सँगै जापानीज र कोरियन भाषा अध्ययनका लागि पनि महंगो शुल्क तिरेर बाहिर जानुपर्ने अबस्था छैन् । बाँसगढी मै निजामती सेवा, शिक्षक सेवाका विभिन्न तयारी कक्षाहरु सञ्चालन भईरहेका छन् । बाँसगढी एजुकेशनल ईष्ट्रिच्युट अफ रिसर्च सेन्टर प्रा.ली.ले बिगत केही बर्ष देखि खरिदार, नायव सुब्बा, प्रा.स र शिक्षक सेवा आयोगका बिभिन्न कक्षाहरु सञ्चालन गरिरहेको छ । बाँसगढी क्षेत्र मै जापानिज र कोरियन भाषा अध्ययनको लागि ग्लोबल एजुकेशन कन्सल्टेन्सी खुलेको छ । बाँसगढी क्षेत्रका बिभिन्न बजारहरुमा कम्युटर बेसिक र डिप्लोमा अध्ययनको लागि बिभिन्न कम्पुटर ईष्ट्रिच्युटहरु सञ्चालनमा छन् ।
यसले गर्दा पनि बाँसगढी क्षेत्र शिक्षाको हवको रुपमा विकास हुँदै गएको देखिन्छ । बाँसगढी नगरपालिकाका नगर उपप्रमुख सुष्मा चौधरीले पहिलेको तुलनामा अहिले बाँसगढीले शिक्षा क्षेत्रमा फड्को मारेको बताउँछिन् । उपप्रमुख चौधरीले बाँसगढी नगरपालिकाले एक वडा एक प्राबिधिक विद्यालयको अवधारण समेत ल्याएको बताईन् । ‘पहिले पैसा हुनेले मात्रै बाहिर गएर पढ्न पाउँथ्ये’ उनले भनिन्, ‘अहिले घर मै बसेर रोजेका बिषय पढ्न पाउने वातावरण सृजना भएको छ ।’ शिक्षा शाखा बाँसगढीका प्रमुख मन प्रसाद रेग्मीले बाँसगढी क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुँदै गएको बताए ।
उनका अनुसार माध्यामिक विद्यालयहरुमा प्राबिधिक सिप मुलक शिक्षालाई जोड दिने गरी कार्यक्रमहरु ल्याइनेछ । उनका अनुसार बाँसगढी क्षेत्रका बिभिन्न विद्यालयहरुले प्राबिधिक शिक्षाको सुरुवात गरिरहेका छन् । त्यस्तै बाँसगढी एजुकेशनल ईन्ष्ट्रिच्युट अफ रिसर्च सेन्टर प्रा.लिका प्रबन्ध निर्देशक फणेन्द्र प्रसाद ढुंगानाले शिक्षा आर्जनका लागि बाहिर जानु पर्ने बाध्यता हटेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्