राप्ती शान्ति उद्यानमा पर्यटकको भीड



–नारायणी रजौरे

दाङ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ मा रहेको राप्ती शान्ति उद्यान (पार्क) पर्यटकको मुख्य केन्द्र बन्दै गएको छ । सो उद्यानमा आज भोलि पर्यटकको भीड नै लाग्ने गरेको छ । उद्यानको अवलोकन, घुमघाम गर्ने र वनभोज मनाउन दैनिक ७०० देखि ८०० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको समितिका कर्मचारी खेतुप्रसाद भण्डारीले बताउनुभयो ।

पार्क अवलोकन गर्न आउनेलाई प्रतिव्यक्ति रु २०, चिल्ड्रेनपार्कको छुट्टै रु २५ र वनभोज खान आउने समूहबाट प्रति टिम रु ६०० सम्म शुल्क निर्धारण गरिएको छ । बीस बिघामा फैलिएको उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । उद्यानको उत्तरतर्फ बालबालिकाका लागि बालउद्यान र ‘बेबी रेल’, पिङ, चिप्लेटी र नजिकैमा पौडीपोखरीको निर्माण गरिएको छ ।

त्यस्तै उद्यानमा झरनासहितको ढुङ्गे पहाड, चिडिया घर छ । चिडिया घरमा बाँदर, दुम्सी, चित्तल, खरायो, राजहाँस, टर्की, उल्लु, बाज, कछुवालाई छुट्टाछुटै कोठामा राखिएको छ । घुम्न आउनेका लागि चिडियाघरका पशुपक्षी आकर्षक मानिन्छन् । चिडिया घरमा चितुवा बाघ, हरिण ल्याउन बाँकी रहेको उद्यान व्यवस्थापन समितिले जनाएको छ ।

उद्यान चराचुरुङ्गीको मधुर स्वर, प्राकृतिक तथा जैविक विविधताले भरिपूर्ण रहेको पाइन्छ । त्यहाँ विभिन्न प्रजातिका वनस्पति र फूलको बगँैचा छ । दक्षिणतर्फ वनभोज खान १० ठाउँमा ‘सेट’ बनाइएको छ । खानेपानी, शौचालयदेखि वनभोज खान आउनेलाई आवश्यक पर्ने भाँडाकुँडा, दाउरा तथा ग्यासको सुविधा पनि सो उद्यानमा छ ।

बर्दियाको नारायणपुरबाट आउनुभएकी ६० वर्षीया महेश्वरी गौतमले पहिलोपटक यहाँ आउँदा निकै आनन्द भएको बताउनुभयो । दशैँको समयमा छोराको घरमा आएका बेला पार्कमा नातिनातिनी र बुहारीसँग घुम्न आएको गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “नातिनातिना चिप्लेटी खेलेँ, म र बुहारी चिडिया घर घुम्यौ, निकै खुशी लाग्यो ।” वनभोज खान तुलसीपुर उपमहानगरपालिकाबाट आउनुभएका ५० वर्षीय नारायण रेग्मीले यहाँ आउँदा आनन्द लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चारैतिर रुख तथा एकान्त ठाउँमा उद्यान रहेछ, त्यसमा पनि यहाँ विभिन्न जात जातिका फूल, चराचुङ्गी देख्दा छुट्टै अनुभुति भयो ।” द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समूहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निर्माण गर्ने निणर्य गरिएको थियो ।

सोलगत्तै विसं २०५९ माघ ८ गतेदेखि त्यहाँ उद्यान निर्माणको काम शुरु गरिएको थियो । शुरुको दिनमा त्यस क्षेत्रमा धेरै झाडी तथा बुट्यान सफा गर्न नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासी, बुद्धिजीवी, व्यापारी, नागरिक अगुवाले योगदान गरेका थिए । उद्यानका लागि आवश्यक पर्ने जग्गा स्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको थियो ।

सबैभन्दा पहिले नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट रु ३७ लाख ५० हजार अनुदान प्राप्त भएको र सो रकमबाट उद्यान निर्माणको काम शुरु गरिएको उद्यान व्यवस्थापन समितिका सदस्य बालाराम रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसपछि पनि पटकपटक गरी साविकको जिविस दाङ, तुलसीपुर नगरपालिका, स्थानीय जनप्रतिनिधि, व्यापारी, नेपाल सरकारको रु चार करोड ५० लाख प्राप्त भएको र त्यसबाट समितिको कार्यालय भवन, पर्खाल, शौचालय, प्रवेशद्वार, वनभोज स्थल, गार्डेन लगायतका पूर्वाधार निर्माण गरिएको हो ।

विगतका वर्षमा नागरिक तथा वन समूहका उपभोक्ताको अथक श्रमदान र राज्यले गरेको सहयोगले नै अहिले उद्यान जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रूपमा परिचित भएको उद्यान व्यवस्थापन समितिका पूर्व सचिव कुलप्रसाद कालाथोकीले बताउनुभयो ।

उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीले उद्यान क्षेत्रमा पर्याप्तमात्रामा पानीको व्यवस्था नहुँदा, वनस्पति उद्यानका लागि आवश्यक पर्ने जनशक्ति, पार्कसम्म पुग्ने बाटो पक्की नहुँदा समस्या हुने गरेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले यसपटक राप्ती शान्ती उद्यानलाई संरक्षण संवद्र्धन र वनस्पति उद्यान पार्क निर्माण गर्नका लागि रु ५० लाख रकम र प्रदेश नं ५ को सरकारले पनि रु ५० लाख बजेट विनियोजन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँले उद्यानको विकासका लागि गुरुयोजना निर्माण भइसकेको बताउनुभयो । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डको तीन किलोमिटर उत्तरमा श्रीगै गाउँबाट झण्डै डेढ किलोमिटर कच्ची बाटो हिँडेपछि पूर्वमा सो उद्यान पर्दछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक १ गते शुक्रबार