15 July 2024  |   सोमवार, असार ३२, २०८१

कर्णाली घुम्ने ट्रान्जिट कोहलपुर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६  

शुभाकर विश्वकर्मा । कोहलपुर ।
चाडपर्वको बिदामा कर्णाली घुम्न आन्तरिक पर्यटक बाँकेको कोहलपुर हुदै जाने गरेका छन् । प्रदेश पाँच, सुदूर पश्चिम र कर्णाली प्रदेशको प्रवेश बिन्दुको रुपमा रहेको कोहलपुरबाट दैनिक सयांै पर्यटकहरु कर्णाली तिर जाने गरेका हुन् ।

काठमाडौँका जन थापा सहित ९ जनाको टोली कोहलपुर हुदै कर्णाली घुम्न निस्किएका छन् । उनीहरुको टोली काठमाडौबाट सोमबार साँझ मात्र कोहलपुर आईपुगेको थियो ।

????????????????????????????????????

थापाले आफुहरुको गन्तव्य कर्णालीको उच्च हिमाली जिल्ला डोल्पा भएको बताए । डोल्पाको से–फोक्सुण्डो ताल घुम्ने योजनामा उनीहरु काठमाडौँबाट कर्णाली यात्रामा रहेका छन् ।

दसैँ, तिहारको बिदामा समुहमा पहिलो पटक कर्णालीका पर्यटकीय स्थलको भ्रमण गर्ने योजनामा रहेको थापाको भनाई छ । से–फोक्सुण्डो भएर जुम्लाको सिंजा उपत्यकाको समेत भ्रमण गर्ने टोलीको योजना रहेको आन्तरिक पर्यटक आदर्श तामाङ बताउँछन् ।

पहिलो पटक कर्णाली घुम्न जान लागेको भन्दै आफु निकै उत्साहित भएको उनले बताए । पुर्वको विराटनगरबाट कर्णाली घुम्न आएका आयुस केसी सहितको १० जनाको टोली पनि कोहलपुर आईपुगेको छ ।

उनीहरुको गन्तव्य भने कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मुुगुस्थित रारा ताल जाने हो । कोहलपुर हुदै कर्णाली राजमार्ग भएर नाग्म गमगढी सडक खण्ड हुदै रारा पुग्ने योजना रहेको केसीले सुनाए ।

दैनिक जसो ५० जना भन्दा बढि साना सवारी मार्फत कोहलपुर हुदै कर्णाली जाने गरेको यातायात व्यवसायी बताउँछन् । उनीहरुका अनुसार केही भारतीय पर्यटकहरु रुपैडिया नाका भएर समेत नेपालगन्ज, कोहलपुर हुदै कर्णालीका विभिन्न पर्यटकीय स्थल जाने गरेको छन् ।

तर संघीय राजधानी र पुर्वबाट आउने पर्यटक भने कोहलपुर हुँदै जान्छन् । उनीहरुको एक दिनको बसाई समेत कोहलपुरमा हुने गर्दछ । यातायात व्यवसायी जगत खत्रीले कोहलपुर बसपार्कबाट दैनिक चार वटा सम्म समुहमा घुम्न जानेहरुको टोलीले साना गाडी मार्फत यात्रा गर्ने गरेको जानकारी दिए ।

उनका अनुसार सबै जना साना गाडी रिजर्व गरेर जाने गर्छन् । कोहलपुरबाट रारा सम्म साना गाडीको बुकिङ मात्रै ५० देखी ६० हजार रहेको उनले बताए ।

अहिले कोहलपुरका होटलमा समेत आन्तरिक पर्यटकको बसाई हुने गरेको छ । कोहलपुरका नयाँ बसपार्कमा होटल व्यवसाय गर्दै आएका भिम प्रसाद न्यौपानेले आफ्नो होटलमा दसैँ लागे लगत्तै आन्तरिक पर्यटकहरु बास बस्ने गरी आउने गरेको बताए ।

कर्णाली घुम्न जानेहरुले खाना समेत अर्गानिक नै खोज्ने गरेको उनले जानकारी दिए । कर्णाली घुम्न जानेहरुको प्रमुख गन्तव्य डोल्पाको से–फोक्सुण्डो, मुगुको रारा ताल, जुम्लाको सिंजा उपत्यका र सुर्खेतको काँक्रे बिहार लगायतका पर्यटकीय स्थलहरु रहेका छन् ।

प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६     11:35:53 AM  |