बाल विवाह मुक्त वडा घोषणाको तयारी



बर्दिया ।

बर्दियाको बारबर्दिया नगरपालिकाको १० नम्बर वडालाई बाल विवाह मुक्त वडा घोषणाको तयारी थालिएको छ । आर्थिक बर्ष २०७६÷०७७ भित्र बाल विवाह मुक्त वडा घोषणा गर्ने गरी तयारी थालिएको छ । वडाले बाल विवाह मुक्त वडा घोषणाका लागि बिभिन्न चरणका कार्यक्रमहरुलाई तिव्रता दिईएको वडा अध्यक्ष निरञ्जन कुमार चौधरीले बताए ।

‘वडालाई यहि बर्ष भित्रमा बाल विवाह मुक्त वडा घोषणा गर्ने योजना छ’ उनले भने, ‘जसका लागि विभिन्न चरणमा सरोकारवालाहरु सँग छलफल, अन्तरक्रिया, सरोकारवाला निकायहरुसँग समन्वय लगायतका कामलाई तिव्र पारेका छौं ।’ बारबर्दिया नगरपालिकाका सामाजिक विकास समिति संयोजक समेत रहेका चौधरीले वडामा वाल विवाह न्युनिकरणका लागि गाउँगाउँ र टोलटोलमा बाल संरक्षण समिति, बाल क्लबहरु गठन गरी जनचेतना मुलक कार्यक्रम, सडक नाटक जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको बताए ।

उनले चालु आर्थिक वर्ष भित्र वडालाई बाल विवाह मुक्त घोषणा गर्ने गरी कार्ययोजना अनुसार काम गरिने र नमुना वडाको रुपमा विकास गर्ने दाबी गरे ।

प्रकाशित मिति : २०७६ असोज ८ गते बुधबार