रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया ।
बर्दिया बाँसगढीको लक्ष्मणपुर गाउँलाई यति बेला झिलिमिली पारिएको छ । दोस्रो लक्ष्मणपुर जिल्ला स्तरिय फुटबल प्रतियोगिता गाउँमा सञ्चालन हुने भएपछि लक्ष्मणपुर गाउँलाई यति बेला झिलिमिली पारिएको हो । ९४ घरधुरी रहेका प्रत्येक घर अगाडी बिजुली वत्ति जडान गरि गाउँलाई नै झिलिमिली पारिएको बेलटारी युवा क्वलका संस्थापक सदस्य अनोज थारुले जानकारी दिए ।
बिजुली बत्तिको लागि बल्व क्लबले खरिद गरेको र बाँकी तार तथा होल्डर प्रत्येक घर धनीले आफै बेहोरेको उनले बताए । ‘गाउँलाई नमुना गाउँको रुपमा प्रस्तुत गर्न सरसफाई समेत गरिएको छ’ उनले भने, ‘फोहर व्यवस्थापनको लागि प्रत्येक घरको अगाडी फोहोर फाल्ने डस्बीनको व्यवस्था गरेका छौं ।’ भोली बिहीबारदेखि १९ गतेसम्म बेलटारी युवा क्लव लक्ष्मणपुरको आयोजनामा प्रतियोगिता हुँदैछ । प्रतियोगिता सञ्चालनको लागि क्लबले समेत तयारी तिव्र पारेको छ ।
प्रतियोगिता सफल पार्न प्रचार प्रसार, खेल मैदान निर्माण तथा सरसफाई, प्रायोजक, प्रशिक्षक लगायत प्रतियोगिताका लागि आवश्यक पर्ने कार्य करिब करिब अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष गोपाल खड्काले जानकारी दिए । गाउँमा प्रतियोगिता सञ्चालन हुने भएपछि स्थानीयबासी समेत खुसी भएका छन् । उनीहरु एक जुट भएर प्रतियोगिता सफल पार्न सक्रिय भएर लागेका छन् । पर्यटकिय सम्भावना समेत बोकेको लक्ष्मणपुरलाई बाँसगढी नगरपालिकाले समेत सरसफाई उन्मुख गाउँको रुपमा घोषणा गरिसकेको छ ।
गाउँमा हुने प्रतियोगितामा जिल्ला भरीका खेलाडी, खेल प्रेमीहरुको सहभागिता हुने भएकाले गाउँलाई नमुना गाउँ भएको सन्देश दिने उदेश्यले पनि सबै बासिन्दाहरु सक्रिय भएर लागेका हुन् ।
क्लबले गाँउमा रहेको थारु संस्कार संस्कृतिको संरक्षण गर्ने, गाउँ घर सरसफाई गर्ने, बेलटारी सामुदायिक वनमा रहेको हरित पिक्नीक स्पोर्टलाई परिचित बनाउने, थारु हस्तकला ढकिया गोरीलाई आधुनिकिकरण गरी बजारीकरण गर्ने, थारु होमस्टे सञ्चालनमा ल्याउने योजना अनुसार कामहरु गरिरहेको छ । क्लबले गाउँको चिनारी र प्रचारको लागि दोस्रो लक्ष्मणपुर बर्दिया जिल्ला स्तरिय फुटबल प्रतियोगिताको यस बर्ष पनि आयोजना गरेको जनाएको छ ।
हिन्दु नेपालीहको महान् पर्व विजया दशमीको अवसरमा आयोजना गरिएको प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल पारिने र तयारी करिब अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ । ‘कला, संस्कृति, पर्यटन तथा खेलकुदका लागि पहिचान, विकास र समृद्धिमा बेलटारी युवाको अभियान’ भन्ने नारा तय गर्दै प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम टिमलाई ३३ हजार ३ सय ३३, द्धितिय हुने टिमलाई १६, तृतिय र सान्त्वना हुने टिमलाई पनि उचित पुरुस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागि टिमको लागि दर्ता शुल्क ३ हजार ५ सय राखिएको टिम दर्ता धमाधम भईरहेको जनाईएको छ ।