शुभाकर विश्वकर्मा । कोहलपुर।

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको मासिक बैठकमा आफ्ना मन्तव्य राख्दै नगर प्रमुख लुट बहादुर रावत ।
बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालनमा रहेका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाईने भएको छ । नगरक्षेत्रमा रहेको प्रत्येक सामुदायिक विद्यालयमा विज्ञान तथा प्रविधिमैत्री कार्यक्रम लागु गरिने भएको हो । सामुदायिक विद्यालयको शिक्षालाई पनि समय सापेक्ष र युग सुहाउदो बनाउनको लागि प्रत्येक सामुदायिक विद्यालयहरुमा ‘एक विद्यालय एक आविष्कार’ कार्यक्रम लागु गरिने भएको छ । सामुदायिक विद्यालयको शिक्षालाई प्रविधिमुखी र प्रतिष्पर्धात्मक बनाउनको लागि ‘एक विद्यालय एक आविष्कार’ कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालय सुधारको योजना सहित नयाँ खालको कार्यक्रम लागु गरिने कोहलपुर नगर शिक्षा शाखाले जनाएको छ । आइतबार बसेको नगरक्षेत्रका सामुदायिक विद्यालयहरुको प्रधानाध्यापकहरुको बैठकले विभिन्न १४ बुँदे निर्णय पारित गरेको हो । कोहलपुर नगर शिक्षा शाखाका प्रमुख अनन्त कुमार पौड्यालका अनुसार सामुदायिक विद्यालयको शिक्षालाई समय सापेक्ष, प्रयोगात्मक, रोजगारमुलक र विज्ञान तथा प्रविधिमय बनाउनको लागि बैठकबाट महत्वपुर्ण निर्णय गरिएको छ । सामुदायिक शिक्षाको सुधार तथा पहलको निम्ति हरेक विद्यालयमा शिक्षा नीति बनाउन बैठकले पारित समेत गरेको छ । यस्तै यस अघि नगर क्षेत्रका विद्यालयमा बनाईएका विद्यालय सुधार योजनालाई थप परिष्कृत र आवश्यक परिमार्जन सहित अद्यावधिक गर्ने, प्रत्येक विद्यालयमा उत्कृष्ट प्रतिभाशाली विद्यार्थी छनोट गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख पौड्यालले जानकारी दिए ।
यस अघिका प्रधानाध्यपाकहरुको बैठकका महत्वपुर्ण निर्णयहरुको कार्यान्यवनमा जोड दिने, एसईई परिक्षामा विद्यार्थीहरुमा हुने गरेको सन्त्रास, डरलाई न्युनिकरण गर्नको लागि नमुना परीक्षालाई निरन्तरता दिने, विद्यार्थीको थप हौसला तथा अध्ययनमा उर्जा थप्नको लागि विषय विज्ञ, स्रोत व्यक्तिहरुबाट हप्तामा विद्यार्थीलाई शिक्षणको व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्ने, विद्यार्थीलाई कक्षागत स्तर अनुसार अंग्रेजीबाट बोल्न, खेल्न र पढ्न सक्षम बनाउने, अप्ठ्यारा विषयमा विद्यार्थीलाई सक्षम बनाउने लगायतका महत्वपुर्ण निर्णय भएको नगर शिक्षा शाखा प्रमुख पौड्यालले मिसन टुडेलाई जानकारी दिए ।
यसैगरी अंग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपाली विषयमा विद्यार्थीलाई सक्षम र दख्खल बनाउनको लागि सैदान्तिक नभई प्रयोगात्मक रुपमा अध्ययन र अध्यायपनलाई जोड दिने निर्णय भएको छ । प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा अधययनरत विद्यार्थीहरुको तहगत शिकाई, सक्षमता र क्षमता अनुसार उपलब्धि हासिल गर्न शिक्षकहरुको क्षमता अभिबृद्धिमा जोड दिईएको छ । ‘प्रत्येक पटकको प्र.अ. बैठकमा भएका निर्णय कार्यान्वयनलाई जोड दिएका छौ’ उनले भने, ‘कोहलपुरको सामुदायिक शिक्षालाई उत्कृष्ट र गतिशिल बनाउन लागि परेका छौ ।’ कोहलपुरलाई गुणस्तरीय शिक्षाको शैक्षिक हब बनाउनको लागि सबैको सहयोग र समर्थन आवश्यक रहेको उनको भनाई रहेको छ ।
स्थानीय सरकारले पनि शिक्षा विकासलाई गम्भिरताका साथ लिएको जनाएको छ । बैठकलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले सामुदायिक विद्यालय शिक्षालाई प्रतिष्पर्धी बनाउन शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका महत्वपुर्ण रहेकोमा जोड दिए । नीजि विद्यालय र सामुदायिक विद्यालयको शिक्षामा अन्तर देखिएकोले शिक्षा सबैको अपरिहार्य अधिकार भएकाले कोही कसैले शिक्षाको पहुँजबाट बाहिर हुन नहुने उनको जोड रहेको थियो । नगर प्रमुख रावतले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा दिएको भन्दै सबैलाई सोही अनुसार काम गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिएका छन् । कोहलपुर नगरपालिकालाई बाँके जिल्ला कै पहिलो साक्षर नगर घोषणा गरिसकेको छ ।
पुर्ण साक्षर अभियान समेतलाई विद्यालय शिक्षाका माध्यमबाट पुर्ण गर्नको लागि यस्ता कार्यक्रमहरुले सघाउ पु¥याउने विस्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीको रहेको छ । उनले शिक्षाको विकास विना समाज विकासको आधारतय हुन नसक्ने भन्दै सक्षम जनशक्ति उत्पादनमा सबैले ध्यान दिनु पर्ने आवश्कता रहेको बताए । प्रमुख प्रशासकिय अधिकृत भारतीले शिक्षालाई समाज रुपान्तरण र विकासको आधार बनाउनको लागि विद्यालय शिक्षा सुधारको खाँचो रहेको दाबी गरे । बैठकमा विद्यालयका प्राधानाध्यापकहरु समेत निर्णय कार्यान्यनमा जोड दिएको शाखाले जनाएको छ । शिक्षकहरुको क्षमता विकासको लागि समेत विभिन्न क्रियाकलपा सञ्चालन गरिने भएको छ ।









प्रतिक्रिया दिनुहोस्