1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

मोटरसाइकलको ठक्करबाट युवतीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा बजारमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री युवतीको मृत्यु भएको छ । विपी चोक नजिकै रहेको नेपालगञ्ज मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट शनिबार युवतीको मृत्यु भएको हो । धम्बोझीबाट गणेशमान चोकतर्फ जाँदै गरेको तिव्र गतीको मोटरसाइकलले ठक्कर दिदा युवतीको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको गढवा गाउँपालिका ७ निवासी २१ बर्षीया सीता चौधरी रहेकी छिन् । ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । तिव्र गतिमा रहेको मोटरसाइकल युवतीलाई ठक्कर दिए लगत्तै भागेको थियो । नम्बर खुल्न नसकेको मोटरसाइकल र सोका चालकको खोजी भइरहेको ट्राफिकले जनाएको छ ।

यसैबिच मृतक चौधरीका आफन्तहरुले ठक्कर दिएर फरार हुने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिनुपर्ने माग राख्दै नेपालगञ्जमा चक्काजाम गरेका थिए । शनिबार साँझ मोटरसाइकलले ठक्कर दिएको ठाउँमा नै जम्मा भएर मृतका आफन्तले केही घण्टा प्रदर्शन गर्दै यातायात अवरुद्व पारेका हुन् । मध्य बजारबाट नै दिउँसो युवतीलाई ठक्कर दिएर मोटरसाइकल भागेपछि स्थानीयहरु आक्रोशित भएका छन् ।

प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६     8:22:33 AM  |