१ असोज, काठमाडौं ।
कर्णाली सरकारले प्रदेशका हरेक नागरिकका लागि एक लाखको बीमा गरि दिएको छ । बुधबार एक समारोहका बीच आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरेको हो ।
सम्झौतामा बीमा कम्पनीकातर्फबाट डाक्टर डिल्लिराज अर्याल र मन्त्रालयका प्रदेश सचिव वीरेन्द्रकुमार यादवले हस्ताक्षर गरेका छन् ।
प्रदेश सचिव यादवले १७ लाख ७० हजार कर्णालीवासीका लागि सामुहिक दुर्घटना बीमा गरिएको बताए ।
सम्झौता अनुसार प्रदेशका कुनै पनि नागरिकको विपद् दुर्घटनामा मृत्यु भएमा बीमावापत एक लाख रकम उपलब्ध गराइने छ ।
मन्त्रालयले प्रदेशका १० हजार घरको समेत निःशुल्क बीमा गर्ने तयारी गरेको छ ।
जिल्ला दैवी प्रकोप उद्दार समितिको सिफारिसका आधारमा १० जिल्लाका १० हजार घरको बीमा गर्ने तयारी गरिएको प्रदेश सचिव यादवले बताए ।घरको बीमा ५ लाखको हुनेछ ।
समितिको सिफारिस नआएकोले केही ढिला भएको उनले बताए ।
बीमा शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले विपदको उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठूलो क्षति बेहोनु पर्ने अवस्थालाई ध्यानमा राखी सरकारले राहत स्वरुप बीमा कार्यक्रम सुरू गरेको बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, कृषिमन्त्री विमला केसीलगायतको उपस्थिति रहेको थियो ।