बागेश्वरी मन्दिरको जग्गाबारे छानबिन शुरु



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको जग्गा दुरुपयोगका सम्बन्धमा केन्द्रीयस्तरको एक टोलीले छानबिन शुरु गरेको छ । सरकारले गठन गरेको सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले सो मन्दिरको ८४ बिघा जग्गाबारे छानबिन शुरु गरेको हो ।

त्यसका साथै मन्दिरका नाममा रहेका अन्य जग्गा पनि छानबिन गरिने बताइएको छ । मालपोत कार्यालय बाँकेको २०५७ सालको विवरणमा उल्लेख भएअनुसार साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको उक्त जग्गाको छानबिन प्रक्रिया अगाडि बढाइएको आयोगका सदस्य जगतबहादुर देउजाले बताए । सदस्य देउजा र गुठी संस्थानका कानून अधिकृत जनक पोखरेलसहितको दुई सदस्यीय छानबिन टोलीले बिहिबार र शुक्रबार जिल्ला मालपोत कार्यालय, नापी कार्यालय र जिल्ला समन्वय समितिको प्रतिवेदनसमेत अध्ययन गरिरहेको छ ।

यसअघि उक्त टोलीले नागरिक समाजका अगुवा, नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, कानून व्यवसायी, जग्गा क्षेत्रका बासिन्दा, राजनीतिक दलका स्थानीय नेता, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारी, पत्रकारलगायतसँग छलफल गरी सुझाव माग गरेको थियो । शुक्रबार पत्रकारसँगको छलफलमा आयोगका सदस्य देउजाले भने, “अहिले छानबिन गरेर तथ्य पत्ता लगाउने मात्र हो, छानबिनको प्रतिवेदन एक महीनापछि सार्वजनिक हुनेछ ।”

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २१ गते शनिबार