कोहलपुरमा खुल्यो कपडा बैंक



कोहलपुर ।

बाँकेको नेपालगञ्जपछि बिहीबारबाट कोहलपुरमा समेत कपडा बैंक स्थापना गरिएको छ । कोहलपुर ११ न्यूरोड चोकमा सञ्चालनमा आएको कपडा बैंकको कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले उद्घाटन गरेका थिए । कोहलपुरका युवाहरुको सहयोगी हातहरु, कोहलपुर नगरपालिका र स्वजन बुहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा कपडा बैंक सञ्चालनमा आएको हो । नगर प्रमुख रावतले गरिब, दिनदुखी, असहाय तथा सडक वालवालिकालाई लक्षित गरी कपडा बैंक सञ्चालनमा ल्याएको दाबी गरे ।

‘आर्थिक अवस्था निकै कमजोर हुनेहरुका लागि यसले केही भएपनी राहत प्रदान गर्नेछ’ उनले भने,‘कोहलपुर नगरपालिकाभित्रका स्थानीय बासीहरुलाई आफ्ना प्रयोगमा नआएका कपडाहरु यस बैंकमा ल्याई दिन समेत अनुरोध गर्दछु ।’ स्वजन बहुद्देश्यीय सहकारीका प्रनिनिधि पुष्पराज हमालका अनुसार कपडा बैंक शनिबार, मंगलबार बुधबार खुल्नेछ ।

स्वजन बुहुद्देश्यीय सहकारी संस्था, रारा विजय बहुद्देश्यीय सहकारी संस्था, पञ्चमुखी इग्लीस बोडिङ स्कुल, चन्द्रज्योति कृषि सहकारी संस्थाका कर्मचारीहरुले पालैपाले गरी बैंक सञ्चालन गर्ने उनले बताए । बैंकबाट विभिन्न व्यक्तिहरुले निशुल्क रुपमा आफुले चाहेका कपडाहरु लिन सक्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २० गते शुक्रबार