समाजको रुपान्तरणसँगै विचारको पनि विकास हुनु आवश्यक हुन्छ ।



– भीम रावत

नेपाली समाज वि.स. २००७ सालदेखि २०७२ साल सम्म आइपुग्दा राजनीति र राज्यको प्रणालीगत रुपमा ठूलो परिवर्तन आयो । नयाँ संविधानले राज्यको संरचनालाई समेत रुपान्तरण ग¥यो । नेपाली समाज सामन्ती निरंकुशतावादी र एकात्मक राज्य प्रणालीलाई पार गरेर अर्थात मूल रुपमा त्यसलाई भत्काएर एउटा पूँजीवादी प्रणालीमा प्रवेश गरेको छ । कुनै पनि समाज वा राज्य व्यवस्था पुरानो प्रणालीबाट नयाँमा रुपान्तरण हुँदा पुरानो प्रणालीका केही अवशेषहरु बाँकी रहन्छन् । शतप्रतिशत शुद्ध प्रणाली संसारमा कतै पनि भएको छैन । त्यसमा पनि देश वा भूगोलको सापेक्षतामा प्रणालीका फरक–फरक रुपहरु हुन्छन् भन्ने हेक्का राख्नु जरुरी हुन्छ ।

२००७ साल अघि तथा त्यस यता नेपालमा भए गरेका विभिन्न वर्गसंघर्षका लडाईहरु, आन्दोलन, जनयुद्ध, जनक्रान्ति तथा क्षेत्रीय र जनजातीय आन्दोलनहरुको फलस्वरुप अहिले हामी नेपालमा सामन्तवादी र एकात्मक राज्यप्रणालीलाई अन्त्य गरेर पूँजीवादी प्रणालीमा प्रवेश गरेका छौं । यद्यपी हाम्रो यस संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य प्रणालीमा पनि सामन्तवादका केही अवशेषहरु बाँकी छन् जो स्वभाविक हो । तर मूल रुपमा नेपालको राज्य प्रणाली सामाजिक र आर्थिक रुपमा पूँजीवादी बनेको छ । त्यसैले अवको नेपाली समाजको मूल कार्यभार भनेको यो पूँजीवादी प्रणालीलाई विकसित गर्दै कसरी समाजवादी प्रणालीमा रुपान्तरण गर्ने भन्ने नै हो । पूँजीवादी प्रणालीलाई समाजवादी प्रणालीमा रुपान्तरण गर्नका लागि पूँजीवादी उत्पादक शक्तिहरुलाई निश्चित सीमासम्म विकास गर्नु पर्ने हुन्छ । पूँजीवादी उत्पादक शक्तिहरुको एउटा निश्चित तहसम्म विकास नभएसम्म उन्नत प्रकारको पूँजीवाद अर्थात उत्पादन–सम्बन्ध निर्माण हुन सक्दैन । हामीले कही कतै जबर्जस्त लाद्न वा थोपर्न खोजौं भने त्यो कायम रहन सक्दैन । त्यसैले अब हामीले नेपाली समाजलाई समाजवादी रुपान्तरणको दिशामा, समाजवादी क्रान्तिको दिशामा अगााडि बढाउनु पर्ने आवश्यकता छ ।

त्यसका निम्ति हामीले पूँजीवादी उत्पादन र उत्पादक शक्तिहरुको विकासमा विशेष पहल गर्नु पर्दछ । तर हाल सम्म नेपालका राजनीतिक दलहरु मुख्य त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र यसको नेतृत्वको सरकार समेत भाषणमा बाहेक व्यवहारमा त्यस तर्फ चासो दिएको देखिदैन । नेपालमा जुन समयमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरियो , त्यो बेला नेपाली समाजको वास्तविक अवस्था अनुसार नै उसले नेपाली समाजको व्याख्या गरेको थियो र सोही अनुसारको आफ्नो कार्यनीति नारा सारेको थियो । त्यति बेला नेपाली समाजलाई अर्धसामन्ती र अर्धऔपनिवेशिक भनेको थियो । समाजको त्यो चरित्रलाई रुपान्तरण गर्ने क्रान्तिको मूख्य कार्यभार नयाँ जनवादी क्रान्ति अर्थात पूँजीवादी जनवादी क्रान्ति भनेको थियो । त्यो सही थियो । नेपालमा विभिन्न समयमा भए गरेका विभिन्न क्रान्ति,आन्दोलन तथा जनसंघर्षको योगफल स्वरुप पूँजीवादी जनवादी क्रान्ति पुरा भएको छ र हामी पूँजीवादको विकास गर्दै समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्नु पर्ने अवस्थामा पुगेका छौं । यो भनेको नेपाली राजनीतिमा एउटा रणनीतिक सिफ्ट पनि हो ।

जब समाज नयाँ चरणमा प्रवेश गर्दछ , तब त्यो समाजको नेतृत्व गर्ने विचारलाई पनि नयाँ दिशामा विकास गर्नु पर्ने हुन्छ । अर्थात त्यस्तो समाजलाई नेतृत्व गर्न नयाँ विचार आवश्यक पर्दछ । हिजो कै विचारले मात्र बदलिएको सामाजिक प्रणालीको आवश्यकता युगको चाहना अनुसार पुरा गर्न सकिदैन । नेपालको सन्दर्भमा र हामी कम्यनिष्ट पार्टीका सदस्यहरुले विर्सन नहुँने विषय के हो भने माक्र्सवादलाई नै नेपालको परिपेक्षमा यहाँको मौलिकतामा विकास गरेर नै नयाँ विचार निर्माण गर्ने हो । विश्वसाम्राज्यवादले जसरी अहिले आफ्नो स्वरुपलाई नयाँ–नयाँ रुपमा परिवर्तन गरेर भूमण्डलीकृत साम्राज्यवादको रुपमा आफूलाई अगाडि बढाइरहेको छ , त्यसको काउण्टरमा माक्र्सवादको विकास मात्रै हुन सक्छ भन्ने विषयमा हामी कम्युनिष्टहरु कही कतै पनि अलमलमा पर्नु हुँदैन ।

नेपालको भूराजनीतिक विशेषता र दलाल पूँजीवादको दबदवाह भइरहेको तथा अधिकार सहितका संघीय संरचना भएको राजनीतिक प्रणालीमा दलाल पूँजीवाद अझ सहजै प्रवेश गर्न सक्ने खतरा त्यतिकै हुन्छ । दलाल पूँजीवादले राष्ट्रिय पूँजीलाई समाजवादी क्रान्तिको आधार तयार गर्ने अवस्थामा पुग्नै दिदैन । राष्ट्रिय पूँजीको विकास नभई हामी समाजवादी क्रान्तिको आधार बनाउन सक्दैनौं । यसको लागि हामीले नयाँ विचारको विकास गर्नै पर्दछ । त्यो नयाँ विचार भनेको माक्र्सवादलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विचारमा टेकेर नै गर्नु पर्दछ । जुन समाजवादी क्रान्तिका लागि आजको युगको आवश्यकता अनुसार माक्र्सवादको विकासबाट मात्र सम्भव छ । जसरी फायरबाख र हेगेलको विचारलाई माक्र्सले नयाँ ढंगले विकास गर्नु भयो र त्यो माक्र्सवादको रुपमा २०औं शताब्दीमा संसारकै उत्कृष्ट वैज्ञानिक विचारको रुपमा स्थापित भयो ।

विचारको विकासक्रममा कमरेड स्टालिनको पालामा स्टालिनले द्वन्द्ववादका तीनवटा सिद्धान्तमा ‘निषेधको निषेध’ पनि थपिदिनु भयो । स्टालिनले यो सिद्धान्तलाई थप्नु मात्र भएन यसलाई निर्णायक रुपमा प्रयोग गर्नु भयो । ‘निषेधको निषेध’ भनेर पुरानो प्रणाली जुन रुपमा अन्त्य हुन्छ , नयाँमा त्यसको कुनै पनि अंश काम लाग्दैन भन्ने खालको यान्त्रिक तरिकाले ब्याख्या गर्नु भयो र व्यवहारमा लागु गर्नु भयो । यसकै आडमा कमरेड स्टालिनले फरक विचार राख्नेलाई भौतिक रुपले पुरै निषेध गर्ने, निहुँ खोजेमा सफाया सम्म गर्ने परम्परा बसाल्नु भयो जसले नेतृत्वलाई पुरै नोकरशाहमा रुपान्तरण गरिदियो । पछि माओले ‘निषेधको निषेध’ भन्ने हुन सक्दैन , यसलाई म मान्दिन भन्नु भयो । माओले ‘निषेधको निषेध’ होइन, बरु विपरीत तत्वहरुको एकत्व हो, जुन एकता संघर्ष र रुपान्तरणको प्रक्रियाद्वारा समाज तथा व्यक्ति स्वयम पनि रुपान्तरण हुन्छ र यही नै वैज्ञानिक हो भन्नु भयो । वहाँको अर्थ रुपान्तरण हुँदा नयाँ ढंगको वस्तु त जन्मिन्छ तर नयाँ जन्मिदा पुरानोका कतिपय अवशेषहरु रहन्छन् भन्नु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यो पार्टीको विचार कस्तो हुने भन्नेमा केही नेताहरुको रस्साकस्सी छ यतिबेला । दुईटा फरक विचारबाट नेपाली क्रान्ति सम्पन्न गर्न संघर्ष गरिरहेका कम्युनिष्ट पार्टी मात्र होइन , अन्य नवउदारवादी पार्टीहरुको समेत सहभागीतामा भएको क्रान्तिले नेपालको नयाँ जनवादी अर्थात हाम्रो सन्दर्भमा पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो । यो क्रान्तिको परिणामले नेपालको राज्यप्रणाली र राज्यव्यवस्थाको संरचना समेत परिवर्तन ग¥यो । यस अवधि सम्म पुरानो नेकपा एमालेले जनताको बहुदलिय जनवादलाई आफ्नो मार्गदर्शन सिद्धान्तको रुपमा अंगिकार ग¥यो भने पुरानो माओवादीले माक्र्सवाद, लेनिनवाद र माओवादलाई मार्गदर्शक सिद्धान्त मान्दै नेपाली क्रान्तिको कार्यक्रम २१ औं शताब्दीको जनवाद मानेको थियो । दुवै पार्टी बिच एकता घोषणा हुँदा दुवैका विचारहरु थाँती राख्दै महाधिवेशन सम्म जनताको जनवादलाई नेकपाको आधिकारिक विचार बनाउने सहमति भयो ।

तर आज कता कता नेताहरुमा हामी कुन युगमा र कस्तो खालको राज्य व्यवस्था र राज्य प्रणलीमा प्रवेश गरेका छौं भन्ने हेक्का समेत राखेको देखिएन । आजको राज्य प्रणालीलाई समाजवादी राज्य प्रणालीमा रुपान्तरण गर्न समाजवादी क्रान्ति सफल पार्नु छ । त्यसका लागि हामीले संविधानमा नै समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना समेत गरेका छौं । नयाँ जनवादी क्रान्ति अर्थात पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्न अख्तियार गरेको विचारले अब कसरी समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ ? नयाँ जनवादी क्रान्तिका आधार, वर्गसंघर्षका स्वरुप, क्रान्तिको कार्यदिशा र सांगठानिक संरचनाहरु जस्ता थिए , त्यस्तै रुपमा राखेर समाजवादी क्रान्तिको नारा लगाउनु फगत गफ मात्र गर्नु हो ।

समाजवादी क्रान्तिको पहिलो आधार उत्पादक सम्बन्ध हो । त्यसको विकास गर्न नयाँ जनवादी क्रान्तिको पुराना विचारले सम्भव छैन । यसका लागि समाजको राज्य प्रणाली र राज्य व्यवस्थाको चरित्र अनुसारको नयाँ विचारको विकास गर्नु आवश्यक छ । तर यहाँ विचारको बहस गर्ने नेता कार्यकर्ताको खडेरी छ । यो ढंगले नेपालमा समाजवादी क्रान्तिको सपना हाम्रो पुस्ताले देख्न पाउने त छ । तर पुरा हुने संभावना छैन ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १८ गते बुधबार